काभ्रे २१ चैत्र : महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडौँ लगियो ।
‘सुत्केरी ब्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च रक्तचापका कारण त्यहाँ सुत्केरी गराउन समस्या भएपछि काठमाडौँ लगिएको हो ।
मोक्तानलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत निःशुल्क हेलिकप्टरबाट काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा लगिएको हो । जिल्लाको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि विशेषगरी सुत्केरी ब्यथा लागेकाको स्वास्थ्य जोखिममा हेलिकोप्टरको ब्यवस्थापन गरी सदरमुकाम तथा काठमाडौँका अस्पताल लैजाने गर्दै आइएको छ ।
सदरमुकामबाट टाढा अवस्थित तथा कच्ची सडकका कारण तत्कालै उपचार गर्नुपर्ने स्वास्थ्य समस्यामा हेलिकोप्टरकै साहारा लिनुपर्ने बाध्यता रहँदै आएको छ । कार्यक्रम लागू भएपछि हालसम्म महाभारतको मात्रै आठ सुत्केरी ब्यथा लागेकाको हेलिकोप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।
‘लामो कच्ची सडकमा सुत्केरी ब्यथा लागेका महिलाको स्वास्थ्य जोखिममा पर्ने भएकाले डाँडापारिका नागरिकले हेलिकोप्टरकै भर पर्नुपर्ने हुन्छ, यहाँका सडक स्तरोन्नति गर्दैछौँ अब अन्य बिरामीलाई पनि केही सहज होला कि !’, उनले भने ।
अध्यक्ष जिम्बाले निःशुल्क हवाई उद्धार निर्देशिका–२०७७ अनुसार सुत्केरी ब्यथा लागेकाको लागि सेवा प्रदान गर्दै आएको बताए । महाभारतका नागरिकलाई उपचार गर्न सदरमुकामका अस्पताल आउनुपर्दा वर्षायाममा झन् कठिन हुने गरेको बताइन्छ । -रासस
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ