शून्यमा झरेको कोरोनाभाइरसको संक्रमण बढ्न थाल्यो, संक्रमण देखिनेबित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह


शून्यमा झरेको कोरोनाभाइरसको संक्रमण बढ्न थाल्यो, संक्रमण देखिनेबित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह

नेपालगन्ज २१ चैत्र : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमणको लक्षण देखिनासाथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोनाभाइरस संक्रमणको लक्षण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो ।

‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बहाना नगरौँ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ का लक्षण देखिनेबित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ ।’

मन्त्रालयले हरेक रुघाखोकी र ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ समेत हुने सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । नेपालमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी. १.१६ देखापरेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले संक्रमण बढिरहेको छ ।

मन्त्रालयले संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निभाउन समेत आग्रह गरेको छ । कोभिड–१९ महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

शून्यमा झरेको कोरोनाभाइरसको संक्रमण अहिले बढिरहेको छ । मन्त्रालयले कोरोनाभाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोनाभाइरसविरुद्धको खोप लगाउन, बेलाबेलामा साबुनपानीले हात धुन वा स्यानिटाइजर लगाउन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले छोप्न र भौतिक दूरी दुई मिटर राख्न अनुरोध गरेको छ ।