प्रतिबद्धता पुरा गर्दै सांसद राठौर, जानकीमा चलाए निःशुल्क स्वास्थ्य शिविर


प्रतिबद्धता पुरा गर्दै सांसद राठौर, जानकीमा चलाए निःशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज २९ चैत्रः नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका बाँके क्षेत्र नम्बर–३ का प्रतिनिधी सभाका सांसद किशोरसिंह राठौरले चुनावी प्रतिवद्धता पुरा गर्नेतर्फ अग्रसरता देखाएकाछन् । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनका क्रममा जनतामाझ गरेका प्रतिवद्धता पुरा गर्ने तर्फ लागेका हुन । राठौरको पहलमा बाँकेको जानकी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको छ ।

निर्वाचनका क्रममा नेता राठौरले आफु निर्वाचित भएपछि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धता अनुसार शिविर सञ्चालन गरिएको हो ।

जानकी गाउँपालिकासँगको सहकार्य र कान्ति आरोग्य अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा बुधबार जानकी गाउँपालिका वडा नम्बर–३ स्थित रम्भापुरमा निःशुल्क शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा ३ सय भन्दा बढी सर्बसाधारणले सेवा लिएका छन् ।

कान्ति आरोग्य अस्पतालका प्रमुख डाक्टर रोमा बोराले दिएको जानकारी अनुसार शिविरमा ८० प्रतिशत महिलाको सहभागिता रहेको थियो । महिलाको योनीबाट सेतोपानी बग्ने, पाठेघर सम्बन्धी समस्या, पाठेघर खस्ने समस्या, महिनावारी राम्रोसँग नहुने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिएको उनले बताइन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै बालबालिकामा कुपोषण, रगतको कमी, सामान्य रुघाखोकी, झाडापखाला जस्ता समस्या देखिएको डाक्टर बोराले बताइन् । अन्य सर्बसाधारणहरुमा विभिन्न किसिमका छाला सम्बन्धी रोग, आँखाको समस्या, कान पाक्ने, कान दुख्ने जस्ता समस्या देखिएको छ ।

शिविरमा पाठेघरको मुखको क्यान्सर भएको आशंकामा केही बिरामीलाई सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रेफर गरिएको डाक्टर बोराले जानकारी दिइन् ।

उक्त शिविरमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ डाक्टर इन्द्रनिल घोस, कान्ति आरोग्य अस्पतालका प्रमुख डाक्टर रोमा बोरा, मेडिकल अफिसर डाक्टर सरोज यादव, डाक्टर उवर्सी गुप्ता, भिजन आँखा अस्पतालका स्वास्थ्यकर्मी लगायतले स्वास्थ्य जाँच गरेका थिए ।

शिविर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद एवम् नेपाली काँग्रेसका नेता बादशाह कुर्मीले नेपाली काँग्रेस सर्बसाधारणको स्वास्थ्य प्रति अत्यन्त सम्बेदनशील रहेको बताए । काँग्रेसले जनतामाझ बोलेका कुरालाई ब्यवहारमा कार्यान्वयन गर्ने बताए ।

यस्तै जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले आफु स्थानीय सरकार प्रमुख भएपछि धेरै कामहरु गरेको बताए । गाउँपालिकाको विकास, जनताको शिक्षा, स्वास्थ्य, कृषिलाई उच्च प्राथमिकता दिइएको जानकारी दिए ।

सो क्रममा प्रदेश सांसद मिना सिद्धिकी, नेपाली काँग्रेस क्षेत्र नम्बर– ३ का सभापति मोहम्मद नक्की खाँ, नेपाली काँग्रेस प्रदेश सभा–३ ‘ख’ का सभापति राजेन्द्र आचार्य, जानकी–३ का वडाअध्यक्ष राजकुमार बर्मा लगायतले बोलेका थिए । उद्घाटन कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, विभिन्न वडाका वडाअध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना, जिन्सी शाखा प्रमुख राजु यादव कर्मचारी, सर्बसाधारण लगायतको उपस्थिती रहेको थियो ।

नेपाली काँग्रेस प्रदेश सभा–३ ‘ख’ का सभापति आचार्यले पार्टीका सहमहामन्त्री राठौंरको पहलमा जानकी गाउँपालिकाको सबै वडामा शिविर सञ्चालन गर्ने योजना रहेको बताए ।

‘क्षेत्र नम्बर ३ अन्तरगत पर्ने तीन वटै गाउँपालिकाको सबै वडामा क्रमशः स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना छ,’ उनले भने ‘सहमहामन्त्री ज्युले आफ्नो निर्वाचन क्षेत्रमा बोलेको प्रतिवद्धतालाई पुरा गर्ने योजनामा हुनु हुन्छ ।’