अब सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाटै रक्त सञ्चार सेवा


अब सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाटै रक्त सञ्चार सेवा

File Photo

नेपालगन्ज ८ वैशाख : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाटै रक्त सेवा उपलब्ध गराउने तयारी गरिएकोछ । क्यान्सर अस्पतालले सेवा दिइरहेको खजुरामा विरामीको सहज उपचारका लागि रक्त सञ्चार सेवा केन्द्र अत्यावश्यक महसुश भएपछि सेवा सञ्चालनको तयारी गरिएको हो ।

रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि खजुरा गाउँपालिका, अस्पताल र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाबीच छलफल पश्चात सहमति भएपछि सेवा छिटो सञ्चालन गर्ने तयारी गरिएकोछ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरवहादुर विकले क्यान्सर अस्पतालमा विरामीहरु सेवा लिन टाढाबाट आउने भएकाले रक्त सञ्चार सेवा अस्पतालमै उपलब्धता गराउन थालिएको बताए ।

यसका लागि गाउँपालिकाका अध्यक्ष विकले भने, ‘रक्त सञ्चार सेवालाई नियमित बनाउन खजुराका विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई त्रैमासिकरुपमा रक्तदान गर्न अभिप्रेरित गर्ने योजना बनाएका छौं’ विकले अगाडी थपे–‘निकट भविष्यमा १५ शैय्याको अस्पताल निर्माण हुन लागेकाले पनि खजुरामा रक्त सञ्चार सेवा आवश्यक छ ।’

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खर्जुन सुवेदीले विरामीका आफन्तबाट रगत आवश्यक भएपछि नेपालगन्जसम्म पुग्नुपर्ने बाध्यता अन्त्यका लागि खजुरामा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गर्नुपर्ने निस्कर्षमा गाउँपालिका पुगेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

रेडक्रस सोसाइटीले हाल भेरी अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरी सेवा दिदैँ आएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मिनबहादुर मल्लले स्थलगत अनूगमनका क्रममा अस्पतालमा तत्कालै रक्त सञ्चार सेवा केन्द्र सञ्चालन आवश्यक देखिएकाले गाउँपालिका, क्यान्सर अस्पताल र रेडक्रस गरी तीन वटै संस्थाको लागत सहभागिता रहनेगरी सञ्चालन गर्न लागिएको जानकारी दिए ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक डाक्टर निरज भट्टराईले अस्पतालमा तत्कालै रगत आवश्यक पर्ने विरामी आउनेगरेको भन्दै रक्त सञ्चार सेवा केन्द्र आवश्यक परेको बताए ।

यसअघि उक्त अस्पतालमा उपचारार्थ विरामीका आफन्त रगत अभावमा करिब १० किलोमिटर टाढा नेपालगन्ज र करीब २६ किलोमिटर टाढा कोहलपुर स्थित रक्त सञ्चार केन्द्र धाउने बाध्याता थियो । यो सुविधा सञ्चालनमा आएसँगै उक्त बाध्यता हट्ने विश्वास लिइएकोछ ।