नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि आउने मिर्गौलाका बिरामीको चाप बढ्दो रहेको छ । अस्पतालमा अहिले दैनिक तीन चरणमा नौ जना मिर्गौलाका बिरामीको डायलासिस सेवा हुने गरेको अस्पतालका हेमोडायलासिस युनिट प्रमुख डाक्टर पारस श्रेष्ठ बताउँछन् ।
उनका अनुसार, अस्पतालमा २३ जना मिर्गौलाका बिरामी डायलासिस सेवाका लागि आउने गरेका छन् । अस्पतालमा रहेका दुईवटा डायलासिस मेसिनमार्फत एक
चरणमा तीन जनाको मात्रै डायलासिस हुने भएकाले अन्य बिरामी पालो कुर्न बाध्य छन् ।
अस्पतालमा डायलासिसका लागि अहिले २३ विरामी पालो कुर्न बाध्य छन् । बिरामीका आफन्त हरेक दिनजसो आउनुहुन्छ पालो आएको छैन भनेर पठाउन बाध्य भएको डाक्टर श्रेष्ठले बताए ।
बिरामीको चापअनुसारको डायलासिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । चार वटा मेसिन रहेकामा दुईवटा मेसिन बिग्रिएपछि दुईवटा मेसिनले मात्र सेवा दिने गरिएको डाक्टर श्रेष्ठ बताउँछन् ।
बिग्रिएको डायलोसिस मेसिन मर्मतको प्रयास भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रुपानन्द अधिकारीले बताए । उनले बिग्रिएको मेसिन एक/दुई दिन भित्रैमा मर्मत भई सञ्चालन हुने उल्लेख गर्दै मिर्गाैलाका बिरामीलाई अस्पतालले सहज रुपमा डायलासिस सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए । तर, भेरी अस्पतालमा रहेका चार वटा डायलासिस मेसिन मध्ये दुईवटा मेसिन बिग्रिएपछि हाल दुईवटा मेसिनले मात्र अस्पतालले सेवा दिदै आएको छ ।