बाँकेमा कोभिड नियन्त्रण अभियान तीव्र पारियो, मंगलबार भारतबाट आएका ७ जनामा कोरोना पुष्टि


बाँकेमा कोभिड नियन्त्रण अभियान तीव्र पारियो, मंगलबार भारतबाट आएका ७ जनामा कोरोना पुष्टि

File Photo

नेपालगन्ज १२ बैशाख : बाँकेमा कोरोना भाइरस संक्रमणबाट एक जना वृद्धको मृत्यु भएपछि संक्रमण नियन्त्रण अभियानलाई तीव्र पारिएकोछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति बाँकेले पछिल्लो समय दैनिक नेपाल–भारत सीमानाका जमुनाहमा संक्रमति फेला पर्न थालेपछि थप सर्तकता अपनाएको हो ।

नेपाल–भारत जमुनाह नाका भएर भारतबाट आउनेमा कोरोना संक्रमण बढि फेला पर्न थालेपछि संक्रमणको चेन बे्रक गर्न समितिले तदारुक्ता देखाएको हो । कोरोना संक्रमित बाँके राप्तीसोनारी गाउँपालिका –२ का ८६ वर्षीय एक जना वृद्धको भेरी अस्पतालमा उपचारका क्रममा यही शनिबार मृत्यु भएको थियो । संक्रमित विरामीको मृत्यु भएपछि यतिबेला जिल्लामा स्वास्थ्य मापदण्डको पालना, भौतिक दूरी र खोप लगाउने अभियानलाई समेत तीव्र पार्न थालिएको बाँकेका कोराना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार विशेष गरी भारतबाट फर्किने नेपालीमा बढी सङ्क्रमण देखिन थालेकाले नाकामा विशेष ध्यान दिने तथा यसअघि नै निर्माण गरिएको होल्डिंग सेन्टरलाई व्यवस्थित पारी तयारी अवस्थामा राखिने बताए । यस्तै बाँकेको नेपालगन्जस्थित भेरी अस्पताल र अन्य निजी अस्पतालमा रहेका कोभिड वार्डहरूलाई पनि हरेक समय तयारी अवस्थामा राखिने ओलीले बताए ।

लामो समयसम्म कोरोनाका बिरामीहरू फेला नपरेको बाँकेमा पछिल्लो केही समययता भारतबाट रोजगारी गरेर फर्किनेहरूमा सङ्क्रमण भेटिन थालेको हो । यसरी संक्रमित भेटिनेमा बाँकेसहित अन्य जिल्लाका रहेकाछन् ।
हालसम्म बाँकेका कोभिड सक्रमितको सङ्ख्या २१ हजार ४ सय जना पुगेको छ भने हालसम्म बाँकेका ३५४ जनाको कोरोनाबाट मृत्यु भइसकेको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच, नेपालगन्जमा मंगलबार ७ जनालाई कोरोना देखिएको छ । भारतका विभिन्न ठाउँबाट आएका एक सय १७ जनालाई जाँच गर्दा सात जनामा कोरोना देखिएको हो । उनीहरुलाई नेपालगन्ज नाकामा जाँच गरिएको थियो ।

कोरोना देखिएका सात जनामध्ये ६ जना बाँके र एक जना दाङ जिल्लाका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिकाका ४ जना, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाका एक–एक जना रहेका छन् । उनीहरु भारतको जम्बु काश्मिरबाट आएका हुन् ।