बर्दिया राष्ट्रिय निकुञ्जमा आगलागी, गाउँबस्तीमा धुवाँको मुस्लो


बर्दिया राष्ट्रिय निकुञ्जमा आगलागी, गाउँबस्तीमा धुवाँको मुस्लो

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने बबई नदि नजिक लागेको आगो । तस्विर: विजय मल्ल/ सेतोखरी

नेपालगन्ज १५ वैशाख : बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज मध्यवर्ती क्षेत्रमा आगलागी हुँदा मानव स्वास्थ्यमा समस्या देखिन थालेकोछ । पछिल्लो दुई हप्तायता निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका जङ्गलभित्र आगलागी भएपछि निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका गाउँबस्ती धुवाँले ढाकेको छ ।

धुवाँका कारण आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने, निकुञ्जभित्र रहेको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा गाडी चलाउन गाह्रो हुनेलगायतका समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । बर्दिया निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने चुरे पहाडबाट सल्किएको आगो निकुञ्जको पश्चिम तथा दक्षिण क्षेत्रमा समेत फैलिँदै गएको छ ।

निकुञ्जभित्रको जङ्गलमा लागेको आगोको धुवाँले निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्ती ढाकेको छ । पुष र माघ महिनामा कुहिरोले ढाकेझैँ यतिबेला धुवाँले गाउँबस्ती ढाकेको छ ।

बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने भुरिगाउँ, रानीपुर, कर्मला, प्रतापुर, डुम्रेनी, सैनवार, मैनवार, बगनाह, बर्गदा, रम्मापुर, औँरी, ठाकुरद्वारा लगायतका धेरैजसो गाउँ केही दिनयता निकुञ्जमा लागेको धुवाँका कारण ढपक्कै ढाकिएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

निकुञ्जको चुरे पहाडदेखि फैलिएको आगो केही दिनयता तराई क्षेत्रको जङ्गलमा समेत फैलिएको छ । यतिमात्र होइन उक्त आगो निकुञ्जभित्रको राजमार्गको दायाँबायाँ सडक छेउसम्म पुगेकोछ । बर्दिया निकुञ्ज आसपासका गाउँबस्तीका स्थानीय बासिन्दा वन जङ्गलभित्र लागेको आगोको धुवाँबाट वर्षौँदेखि पीडित हुँदै आएका छन् ।

दिउँसो हावा चल्ने हुनाले धुवाँको प्रभाव धेरै नभए पनि बिहान–बेलुका धुवाँले गाउँबस्ती ढाकिन्छ र पुष–माघको बाक्लो हुस्सु–कुहिरो लागे झैँ हुने गरेकोछ । उक्त धुवाँका कारण सो क्षेत्रमा विहान–बेलुका सर्वसाधरणलाई हिँडडुल गर्न समस्या भइरहेकोछ । बेलुका ७ बजेदेखि बिहान ९ बजेसम्म धुवाँका कारण राजमार्गमा गाडी चलाउनसमेत गाह्रो हुने गरेको चालकहरु बताउँछन् ।

यस्तै निकुञ्जभित्र सेनाका दर्जनभन्दा बढी सुरक्षा पोष्टहरु छन् । धुवाँले निकुञ्ज सुरक्षार्थ खटिएका सेना र कर्मचारीलाई असर पर्न थालेको छ । गर्मीयाममा पश्चिमी वायुसँगै चल्ने हावाका कारण निकुञ्ज भित्र सल्केको आगो फैलिँदै गएको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा लागेको आगोका कारण हरेक वर्ष चराचुरुङ्गीका अण्डा, बच्चा, गुँड र नयाँ बोटबिरुवा तथा जडीबुटी जलेर नष्ट हुने गरेको छ । वन जङ्गलभित्रको आगलागीका कारण मानवस्तीसँगै निकुञ्ज र सामुदायिक वन भित्रका वन्यजन्तु समस्यामा छन् ।