नेपालगन्ज आएसँगै राजा ज्ञानेन्द्रको ब्यस्तता बढ्यो

आईतबार जुम्ला जाँदै, सोमबार बागेश्वरी मन्दिरको महाआरतीमा सहभागि हुने


नेपालगन्ज आएसँगै राजा ज्ञानेन्द्रको ब्यस्तता बढ्यो

नेपालगन्ज १६ वैशाख : पश्चिम नेपालको एक महिने भ्रमणका लागि राजा ज्ञानेन्द्र शाह यतीबेला नेपालगन्जमा छन् । हिजो (शुक्रबार) बेलुकी बुद्ध एयरको जहाजबाट रानी कोमल शाह, छोरी प्रेरणा र बुहारी हिमानी शाहसँग उनी नेपालगन्ज आएका हुन् ।

राजालाई राप्रपाका महामन्त्री एवम क्षेत्र नम्बर–२ का प्रतिनिधी समा सदस्य डाक्टर धवलशमशेर राणा, राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटा लगायतले विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।

नेपालगन्ज आएका राजा ज्ञानेन्द्र यतिबेला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ भुजईगाँउस्थित होटल सोल्टिमा रहेकाछन् । पश्चिम नेपालको एक महिने भ्रमण राजा ज्ञानेन्द्रले यही होटलबाट पुरा गर्नेछन् ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज आएसँगै बढ्यो ब्यस्तता

शुक्रबार बेलुका नेपालगन्ज आएका राजा ज्ञानेन्द्रको ब्यस्तता बढेकोछ । पछिल्लो राजनीति तथा समसामयिक विषयमा राजतन्त्र पक्षधर, हिन्दु संघ संंस्थाका प्रतिनिधि लगायतसँग राजाको ब्यस्तता बढेको हो ।

नेपालगन्ज आएका राजा भोली आईतबार बैशाख १७ गते जुम्ला भ्रमण जाने कार्यतालिका तय छ । आईतबार विहान विमानमार्फत जुम्ला गएर सोही दिन बेलुका नेपालगन्ज फर्किने कार्यतालिका रहेको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले सेतोखरीलाई जानकारी दिए ।

उनका अनुसार जुम्ला गएर सोही दिन नेपालगन्ज फर्किने राजाले बैशाख १८ गते सोमबार नेपालगन्जको बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम तय गरिएकोछ । राजा ज्ञानेन्द्रसहित राजपरिवारले बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागिता जनाउने भएकाले महाआरतीको भब्य व्यवस्थापन समेत गरिने देवकोटाले जानकारी दिए ।

यस्तै देवकोटाका अनुसार एक महिना नेपालगन्जमा बसेर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने राजाको २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिदैँछ । राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दनलाई भव्य बनाउन नेपालगन्जमा तयारी तिव्र पारिएको छ ।

५० हजार बढिको सहभागितामा राजाको नेपालगन्जमा हुने नागरिक अभिनन्दनका लागि पाँच हजार एक सदस्यीय मूल समिति र १४ वटा उपसमिति बनाइएको छ । राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद डाक्टर धवल शमशेर राणाको संयोजकत्वमा राजतन्त्र पक्षधर र हिन्दु संघ संंस्थाका प्रतिनिधिलाई समेटेर समिति बनाइएको हो ।

नितु चन्दको संयोजकत्वमा स्वागत, ओमप्रकाश आजादको संयोजकत्वमा मञ्च व्यवस्थापन, ऋषिराज देवकोटाको संयोजकत्वमा प्रचारप्रसार, नन्दलाल वैश्यको संयोजकत्वमा आर्थिक, तारामान कुँवरको संयोजकत्वमा यातायात, विन्दु चर्तिमगरको संयोजकत्वमा संघ संंस्था समन्वय, हुकुम केसीको संयोजकत्वमा स्वयंसेवक र मंगल जीएमको संयोजकत्वमा सुरक्षा उपसमिति बनेको छ ।

यस्तै, पवित्रा सुब्बाको संयोजकत्वमा अनुगमन, रुद्र न्यौपानेको संयोजकत्वमा पार्टी परिचालन, मदनराज शर्माको संयोजकत्वमा धार्मिक समन्वय, गौरव चन्दको संयोजकत्वमा प्रचार–प्रसार सामाग्री व्यवस्थापन, इन्दिरा शाहीको संयोजकत्वमा स्वास्थ्य र सलाउद्दिन जसगढको संयोजकत्वमा मुस्लिम समुदाय समन्वय उपसमिति बनाएर परिचालन गरिएको छ । उपसमितिका संयोजकले आ–आफ्ना समितिलाई पूर्णता दिँदै काम गरिरहेका छन् ।

राजाको नागरिक अभिनन्दन बैशाख २० गते दिउँसो ३ बजे रामलिला मैदानमा गरिदैँछ ।

थप समाचार

एक महिने पश्चिम नेपालको भ्रमणका लागि राजा ज्ञानेन्द्र शुक्रबार नेपालगन्ज आउदैँ

बागेश्वरीमा हुने महाआरतीमा राजा ज्ञानेन्द्रसहित राजपरिवार सहभागि हुदैँ