बागेश्वरीमा हुने महाआरतीमा राजा ज्ञानेन्द्रसहित राजपरिवार सहभागि हुदैँ

राजपरिवारलाई नागरिक अभिनन्दन गर्न र नेपालगन्ज बसाइ सुखद् बनाउनका लागि राजावादी तथा हिन्दुवादीहरू छलफलमा जुटे


बागेश्वरीमा हुने महाआरतीमा राजा ज्ञानेन्द्रसहित राजपरिवार सहभागि हुदैँ

File Photo

नेपालगन्ज ४ वैशाखः पश्चिम नेपालकै प्रशिद्ध मन्दिर नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’मा राजपरिवारको सहभागिता हुने भएकोछ । बागेश्वरी मन्दिरमा गरिने साप्ताहिक महाआरतीमा सहभागी हुनका लागि राजा ज्ञानेन्द्र शाहलगायत राजपरिवार नेपालगन्ज आउने भएका हुन् ।

पश्चिम नेपालको विभिन्न जिल्लाको भ्रमणमा निस्किने क्रममा राजा ज्ञानेन्द्रसहितका राजपरिवारका सदस्य नेपालगन्ज आउने र बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम तय भएको ट्राभल एजेन्ट्स एशोसिएशन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

राजा ज्ञानेन्द्र शाह यही वैशाख १८ गते नेपालगन्ज आउने कार्यक्रम रहेको छ । एक महिना नेपालगन्जमा बसेर पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रमका दौरानमा महाआरतीमा सहभागि हुने उनले जानकारी दिए ।

पश्चिम नेपालको भ्रमणमा आउन लागेका राजा ज्ञानेन्द्र र राजपरिवारलाई नागरिक अभिनन्दन गर्ने र नेपालगन्ज बसाइ सुखद् बनाउनका लागि राजावादी तथा हिन्दुवादीहरू छलफलमा जुटेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच राजा ज्ञानेन्द्रको भ्रमणबारेमा छलफल गर्न राजाका सचिव सागर तिमिल्सेना नेपालगन्ज आएका छन् । सचिव तिमिल्सेनाले नेपालगन्जमा राजावादी पार्टी, भातृ संगठन, हिन्दुवादी संघ संस्था तथा विभिन्न व्यक्तिसँग छलफल गरिरहेका छन् ।

नेपालगन्जको बागेश्वरी मन्दिरमा केही महिनादेखि हरेक सोमबार महाआरती गर्ने गरिदैँ आएको । महाआरतीमा दिन प्रतिदिन भक्तजनको घुँइचो लागिरहेको छ । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बाह्य तथा आन्तरिक पर्यटकको सधै“ भीड हुने गर्दछ ।

हरेक सोमबार महाआरती हुने भएपछि भक्तजनहरू स्वस्फूर्त आउने गरेका छन् । महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने र सन्ध्या आरतीपछि भजन कीर्तन पनि गर्ने गरिएको छ । महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

‘वेष्टर्न ट्राभल मार्ट’को अवसरमा गत माघ १५ गतेदेखि साप्ताहिक रूपमा बागेश्वरी मन्दिरमा महाआरती सुरु गरिएको हो । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलकै अथक प्रयास र समन्वयमा महाआरतीले पूर्णता पाएको हो । बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीले धार्मिक पर्यटक प्रवद्र्धनमा सघाउ पुगेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

यता गुठी व्यवस्थापन समितिका संयोजक एवम सांसद डाक्टर धवलशमशेर राणाले लामो समयको प्रयासपछि बागेश्वरी मन्दिरमा महाआरती गर्न सकिएको भन्दै खुशी ब्यक्त गरे ।

कहाँ–कहाँ हुन्छ महाआरती ?

महाआरती नेपाल र भारतका धेरै स्थानमा हुने गरेको छ । हिन्दु आराध्यदेव महादेवको काठमाडौंस्थित विश्व प्रसिद्ध पशुपतिनाथको मन्दिरमा बागमति नदीको किनारमा भव्य महाआरती हुुन्छ । पशुपतिनाथको महाआरतीमा सहभागी हुने सबैको मन मस्तिष्कमा आरतीको छाप परेको हुनुपर्छ । मधेस प्रदेशको जनकपुरको गंगासागरमा नित्य सन्ध्या आरती हुँदै आएको छ । यस्तै नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा र पोखरामा पनि फेवाताल किनारमा महाआरती भइरहेको छ । भारतको हरिद्वार र बनारसमा पनि नियमित आरती हुन्छ । पण्डित वा बटुकद्वारा बैद्धिक मन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गरेर धार्मिक विधि अनुसार महाआरती गरिन्छ । महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्छन् । सन्ध्या आरतीपछि भजन किर्तन पनि हुन्छ । महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

थप समाचार

बागेश्वरीमा ‘महाआरती’ : नगरबासीको धार्मिक आस्थाप्रति रुचि बढ्दै

बागेश्वरी मन्दिरमा दोस्रो पटकको ‘महाआरती’

बागेश्वरी मन्दिरमा पहिलोपटक महाआरती