‘जारी’ले १५ करोडको व्यापार गर्दा अन्य चलचित्र लाखमै सीमित


‘जारी’ले १५ करोडको व्यापार गर्दा अन्य चलचित्र लाखमै सीमित

नेपालगन्ज २३ वैशाख : चलचित्र भवनमा अहिले चार नेपाली चलचित्र प्रदर्शनरत छन् । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ को व्यापार अन्यको तुलनामा उच्च छ ।

चलचित्र विकास बोर्डमा बक्स अफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले रु १५ करोडभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबारको व्यापारसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ ।

वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को शो सङ्ख्या घट्नाका साथै दर्शक पनि घटेका छन् । प्रदर्शनको एक साता पार गर्दा ‘नाईं नभन्नु ल ६’ ले रु २५ लाख र ‘प्रसाद २’ ले रु ७० लाखको व्यापार गरेका छन् ।

यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकी ः आई एम ट्वान्टी वान’ ले दुई दिनमा रु. २० लाखको हाराहारीमा व्यापार गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको व्यापारले स्पष्ट पारेको छ । चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले चलचित्र ‘जारी’ को व्यापारलाई पुष्टि गरे ।

‘जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अङ्क अझै बढ्ने देखिन्छ । अन्य चलचित्रको व्यापार सार्वजनिक भएका विवरणकै आसपासमा छ’, बोर्डका सदस्य अधिकारीले भने ।