जब्दीघाट पुलमुनि पूर्वमन्त्री सञ्जयको आमरण अनशन


जब्दीघाट पुलमुनि पूर्वमन्त्री सञ्जयको आमरण अनशन

नेपालगन्ज ३१ वैशाख : नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेकासांसद सञ्जयकुमार गौतम आमरण अनशन बसेका छन् । बर्दियाको बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने जब्दीघाटको पुलमुनी बसेर १५ वटा माग पुरा गराउन उनी आमरण अनशन बसेका हुन् ।

पूर्वमन्त्री समेत रहेका गौतमले १५ वटा माग अघि सार्दै शनिबारदेखि अनशनमा बसेका हुन् । उनले समस्त बर्दियाका जनताका तर्फबाट आफू अनशनमा बसेको बताउँदै आफ्ना मागप्रति नेपाल सरकारले सम्बोधन गर्नेमा विश्वस्त छन् ।

उनले जब्दीघाटको भत्किएको पुलमुनि अनशनलाई जारी राखेका छन् । यो पुलका संरचना हटाएर तत्कालै नयाँ पुल बनाउनसमेत उनले माग गरेका छन् ।

बर्दिया सदरमुकाम जोखिममा रहेकाले तत्काल तटबन्धनको बाँकी काम पूरा गर्नुपर्ने, बबई सिँचाइ आयोजना ३ वर्षभित्र पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ–तेलपानी–सुर्खेत सडक खण्ड निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरू गर्न उनले सरकारसँग माग गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

साथै गुलरिया मूर्तिया नाका तुरून्त सुचारू गर्नुपर्ने, मध्यवर्ती क्षेत्रका बासिन्दालाई निःशुल्क बीमा व्यवस्था गरिनुपर्ने, बाढीपीडितलाई भूकम्पपीडित सरह राहत दिने व्यवस्था लागु गरिनुपर्ने, कपास विकास समिति विघटन गरी किसानहरूलाई मोही सरह हैसियत दिनुपर्ने, सत्तिघाट पुलमा आवश्यकताअनुसार स्पान थप गर्नुपर्ने माग पनि उनले राखेका छन् ।

गत वर्ष बेमौसमी वर्षातका कारण बालीनालीमा क्षति पुगेकोले त्यसबेला घोषणा गरेअनुसार राहत दिनुपर्ने, राजापुर सिँचाइ आयोजनाको दोस्रो चरणको कामका लागि बजेट विनियोजन गरिनुपर्ने माग उनले राखेका हुन् ।
अव्यवस्थित र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न पनि उनले सरकारसँग माग गरेका छन् ।

किसानलाई बीऊ र मललगायत उपलब्ध गराउने र उचित बजार व्यवस्थापन गरिनुपर्ने र बर्दियामा एक कृषि पोलिटेक्निक स्थापना गर्नुपर्ने उनको माग छ । सबैखाले भ्रष्टाचारको प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने मागसमेत उनले राखेका छन् ।

बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल ९ वर्ष अघि निर्माण भएको थियो । विसं २०७१ मा बबईमा आएको बाढीले उक्त पुलको बिच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो ।

गतवर्ष असोज अन्तिम साता अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको थियो । क्षतिग्रस्त बनेको उक्त पुलको बिच भागको स्पान, स्पर पिलर बगाएको थियो ।

यतिबेला बबईले बगाएको जब्दीघाटमा पुलको विकल्पको रुपमा छेउमा काठको पुल निर्माण गरि सर्वसाधरणसँग शुल्क लिन थालिएकोछ ।

बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने एक मात्र पुल जब्दी घाटको पुल भत्किएपछि बारबर्दिया र गुलरिया नगरपालिकाले ठेक्कामार्फत डुङ्गा सञ्चालन र त्यसबाट शुल्क लिन अनुमति दिएको थियो । तर, उक्त स्थानमा अहिले ठेक्का लिएकाले अस्थायी रुपामा काठको पुल निर्माण गरेर सर्वसाधरणसँग चर्को शुल्क उठाउँदै आएका छन् ।

नदी तर्दा उक्त अस्थायी पुल प्रयोग गरेबापत शुल्क लिएको भनि चर्को आलोचना र विरोध भएपछि नेपाली उपभोक्ता संरक्षण महासंघ बर्दियाले शुल्क लिने कार्य तुरुन्त रोकी निःशुल्क रुपमा सहज आवागमनको व्यवस्था मिलाउन माग गर्दै गत चैत्र पहिलो हप्ता गुलरिया र बारबर्दिया नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै शुल्क नलिन माग गरेको थियो ।

थप समाचार

जब्दीघाट पुल बनेन्, अस्थायी पुल बनाएर शुल्क असुली

बर्दियाको जब्दीघाटको पुल बाढीले बगायो