आजदेखि डाक्टरको शुल्क बढ्यो, कसको कती ?


आजदेखि डाक्टरको शुल्क बढ्यो, कसको कती ?

नेपालगन्ज १ जेठ : अस्पतालको बहिरंग (ओपिडी) अर्थात बिरामी जाँच गर्दा चिकित्सकहरूले लिने शुल्क आज (सोमबार) देखि वृद्धि भएको छ ।

नेपालका चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक सङ्घ (एनएमए) र निजी अस्पताल सञ्चालकहरुको छाता संस्था एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले जेठ १ गतेदेखि लागु हुनेगरी ओपिडी शुल्क बढाएको हो ।

ओपिडी शुल्क चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको छ । सङ्घका अध्यक्ष डाक्टर अनिलविक्रम कार्कीले बढ्दो महँगी र नेपाल राष्ट्र बैठकले जारी गरेको मुद्रास्फीतिको आधारमा शुल्क बढाएको जानकारी दिए । मन्त्रालय र सरोकारवालाको परामर्शका आधामा नयाँ शुल्क तोकिएको हो ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, पहिलो संशोधन २०७८ ले स्वास्थ्य सम्बन्धी कुनै पनि सेवाको शुल्क निर्धारण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवको अध्यक्षतामा सात सदस्य समिति रहने व्यवस्था गरेको छ । तर, तत्कालीन स्वास्थ्य मन्त्री उमेश श्रेष्ठले स्वास्थ्य संस्था सञ्चालन मापदण्डलाई मिचेर शुल्क बढाउने जिम्मा नेपाल चिकित्सक सङ्घलाई दिएको सरोकारवाला बताउँछन् । नियम विपरीत शुल्क बढाएको भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

कति बढ्यो ओपिडी शुल्क ?

नयाँ शुल्क अनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबिबिएस बीडीएस चिकित्सकले ४२० रुपैयाँ लिन पाउनेछन् । यसअघि यस्तो चिकित्सकको शुल्क ३७० रुपैयाँ तोकिएको थियो । पाँच वर्ष बढी अनुभव भएका एमबिबिएस तथा बीडीएस चिकित्सकले ५१५ रुपैयाँ लिन पाउँछ । यसअघि ४५० रुपैयाँ शुल्क तोकिएका थियो ।

यस्तै डिप्लोमा लेभलको चिकित्सकले पाँच वर्ष मुनिको अनुभव छ भने ५९० रुपैयाँ र पाँच वर्षभन्दा बढी छ भने ६७० रुपैयाँ लिन पाउँछन् । यसअघि पाँच वर्ष कम अनुभव भएकोले ५१५ रुपैयाँ र पाँच वर्ष बढी अनुभव भएकाको ५९० रुपैयाँ तोकिएको थियो ।

यसैगरि, एमडीएमएस एमडीएस लेभलका चिकित्सकले पाँच वर्ष मुनि अनुभव भएपनि ७५० रुपैयाँ ओपिडी शुल्क लिन पाउनेछन् । पाँच वर्ष बढी अनुभव भएमा सो लेभलको चिकित्सकले आठ सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन् ।

दुई वर्ष अघि भने यो लेभलको चिकित्सकको शुल्क पाँच वर्षभन्दा कम अनुभव भएकाको ६६० रुपैयाँ र त्यसभन्दा बढी अनुभव भएमा सात सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, डीएम एमसीएच तहका चिकित्सक जसको अनुभव पाँच वर्षभन्दा कम छ उनीहरूको शुल्क ८८० रुपैयाँ हुने भएको छ । यसअघि उनीहरूको शुल्क ७७० रुपैयाँ थियो । पाँच वर्ष माथिकाले ९४० रुपैयाँ लिन सक्ने छन् । यसअघि यो तहका चिकित्सकले ८२५ रुपैयाँ लिन पाउँथे ।

यस्तै, आजबाट निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरको न्यूनतम तलब पनि बढ्ने भएको छ । यसअघि उनीहरूको न्यूनतम तलब मासिक ४२ हजार रुपैयाँ तोकिएकोमा आजदेखि न्यूनतम तलब ४८ हजार ७३७ कायम गरिएको उल्लेख छ ।