नेपालगन्ज : बाँकेमा एचआईभी/एड्सका बिरामी बर्सेनी बढ्दै गएका छन् । सरकारी तथ्याकं अनुसार एक हजार १२ जना व्यक्ति एचआईभी एड्सबाट संक्रमित छन् ।
जसमा एक सय २८ जनाको मृत्यु भइसकेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हरी तिवारी बताउँछन् ।
उनकाअनुसार बाँकेमा पाँच सय ६५ पुरुष, चार सय ३४ महिला र १३ जना तेस्रो लिङ्गी एचआईभी संक्रमित रहेका छन् । एआरटी खानेको संख्या ४ सय ६० जना रहेको छ । बाँकेमा २६ जना बालबालिकामा एचआईभी संक्रमण छन् । असुरक्षित यौनसम्पर्क र सुई, सिरिन्जबाट लागूऔषध प्रयोगकर्ता एचआईभीको उच्च जोखिममा रहेका छन् । कामका लागि विदेश गएकाबाट पनि एचआईभी सरेको भेटिएको छ ।
समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेका कितपय संक्रमितहरू एआरटी सेवाबाट बञ्चित भईरहेका छन् । एक पटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनुपर्ने भएकाले केही संक्रमितले सेवा लिन नमानेको तिवारीको भनाइ छ ।
एआरटी र पीएमटीसीटी सेवा लिन छुटेका एचआईभी संक्रमितलाई समेट्न सरकारले विशेष नीति अवलम्बन गरेको बताउँदै सरकारले ९०–९०–९० नीतिलाई अगाडि बढाएको छ । सन् २०२० सम्म उपचारबाट वञ्चित ९० प्रतिशतलाई सेवा प्रदान गर्ने, ९० प्रतिशत सर्वसाधारणको एचआईभी जाँच गर्ने र ९० प्रतिशतलाई संक्रमणको बारेमा जानकारी दिन े नीति सरकारले अघि सारेको छ ।
भेरी अस्पतालले एचआईभी संक्रमितलाई निःशुल्क उपचार सेवा दिएको छ । विशेषगरी भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआईभी एड्सको संक्रमण देखिएकोले सीमामा सचेतना फैलाउने अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेले बताएको छ ।