File Photo
नेपालगन्ज १० जेठ : नेपालगन्जको सुर्खेतरोडस्थित ठूलो नालाको पुल करिब ८–१० मिटर रहेपनि निकास मात्र ३ मिटर चौडाइ भएकाले पानी थुनिएर समस्या भएपछि त्यसलाई चौडा बनाउनका लागि टेण्डर आव्हान भएको छ ।
सडक डिभिजन कार्यालय नेपालगन्जले उक्त नालाको चौडाई पुर्न निमार्णका लागि गत सोमबार टेण्डर आव्हान गरेको सडक डिभिजन कार्यालयका प्रमुख निरज शाक्यले बताए ।
नालाबाट पानी बग्ने मुहानलाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगन्ज शहर डुब्ने समस्याको अब अन्त्य हुनेछ । बाँकेका सांसद लक्ष्मी तिवारीको विशेष पहलमा उक्त निमार्णको कार्य यसै आर्थिक वर्षमा हुने प्रमुख शाक्यले बताए ।
वर्षौ देखिको उक्त समस्याका बारेमा नेपालगन्ज सेतु विक चोक स्थित होटल व्यवसायी गोपाल गिरी लगायतका स्थानीयले पटक–पटक नेपालगन्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसँग आग्रह गर्दा समेत कुनै सुनवाई नभएपछि सांसद तिवारीले यो सवाललाई संघीय सरकारसमक्ष दबाब दिएपछि निमार्णको कार्य अघि बढेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधीसभा सदस्य तिवारीले नेपालगन्ज सुर्खेतरोड सडक खण्ड अन्र्तगत जिल्ला शिक्षा इकाई कार्यालय नजिक रहेको मुख्य नालाको निकासको चौडाईको अभावमा पानी थुनिएकाले पुलको चौडाई बढाएर निकास फराकिलो बनाउनका लागि सम्वन्धित सरोकारवालासँग पुगेर पहल गर्दा काम हुने निश्चित भएको भन्दै खुशी व्यक्त गरिन् ।
संसाद तिवारीले भनिन्,‘नेपालगन्ज शहरको मुख्य समस्या ढल निकास र डुबानलाई दीर्घकालिन समाधान गर्नुपर्दछ, त्यसका लागि मेरो पहल पहिलो भयो ।’
स्थानीयको समस्या लिएर सांसद तिवारीले सडक डिभिजन कार्यालय, क्षेत्रीय सडक डिभिजन, नेपाल सरकार अर्थ मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालयसम्म धाएर नाला र पुलको चौडाई बढाउनका लागि लाग्ने लागत स्टिमेट रु तीस लाख बजेट व्यवस्थापन गराउन सफल भएकी हुन् ।
सांसद तिवारीले यो समस्यालाई लिएर सडक डिभिजन कार्यालय नेपालगन्ज प्रमुख निरज शाक्य, अर्थ सचिव अर्जुनप्रसाद पोख्रेल लगायतसँग भेटेर समस्या राख्दा तत्काल निमार्णको कार्य अघि बढाउने सहमती भएर अहिले टेण्डरको सूचना समेत प्रकाशन भएको सांसद तिवारीका निजी सल्लाहकार रविन्द्रकुमार ज्ञवालीले बताए ।
नेपालगन्ज नगरभित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नालाहरु निमार्ण भईसकेको छ । तर, नाला निमार्ण भएपनि वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रयाप्त पानीको निकास थुनिएपछि शहर डुबानमा पर्ने समस्या अब समाधान हुनेछ ।
सल्लाहकार ज्ञवालीका अनुसार सांसद तिवारीले यस क्षेत्रको विकास निमार्ण तथा सार्वजनिक सरोकारको सवाललाई मुख्य प्राथमिकताका साथ उठाएर समाधानका लागि पहल गरिरहेकीछन् भने ती सवालहरुलाई आफनो कार्ययोजनामा समेत समेटीकी छन् ।
वर्षाको समयमा नेपालगन्जमा केही बेर पानी परेपछि सेतु विक चोक र घरबारीटोल, गणेशपुर, न्युरोड लगायतका स्थानहरु जलमग्न भई घरभित्र समेत पानी भर्ने समस्या रहेको स्थानीय बताउँछन् ।
थप समाचार