मृगौलाको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दै बैजनाथ


मृगौलाको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दै बैजनाथ

बैजनाथ(बाँके) ११ जेठ : बैजनाथ गाउँपालिकाले सर्वसाधरणको मृगौलाको प्रारम्भिक स्वास्थ्य परीक्षण सुरु गरेकोछ । पालिकाले अभियान नै चलाएर बिहीबारदेखि मृगौलाको प्रारम्भिक स्वास्थ्य जाँच सुरु गरेको हो ।

अभियान अन्र्तगत बैजनाथ गाउँपालिका वडा नम्बर– १ मा बिहीबार पिसाबद्वारा मृगौलाको प्रारम्भिक स्वास्थ्य परीक्षण शिविर गरिएको छ । बैजनाथ गाउँपालिका कार्यालयको सहयोगमा गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त शिविर सञ्चालन गरेको हो ।

गाउँपालिकाको ८ वटै वडामा शिविर सञ्चालन गर्ने उद्देश्य अनुरुप चिसापानीस्थित स्वास्थ्य चौकीमा बिहीबार वडा नम्बर– १ का ४० वर्षभन्दा माथीका सर्बसाधारणको पिसाबद्वारा मृगौलाको प्रारम्भिक परीक्षण गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले समयमै मृगौलाको प्रारम्भिक परीक्षण गरेमा ठुलो रोग लाग्नबाट बच्न सकिने बताए । गाउँपालिकाले आफ्ना नागरिकलाई राहत प्रदान गर्न यस्तो कार्यक्रम ८ वटै वडामा सञ्चालन गरेको उनको भनाई छ ।

Kids Festival 2022
kanti aarogya hospital

गाउँपालिकाले निकट भविष्यमा छालारोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि नेपालगन्ज मेडिकल कलेजसँग सम्झौता प्रक्रिया समेत अगाडी बढाइसकेको अध्यक्ष शाहीले जानकारी दिए ।

बैजनाथ गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्न ठेक्का पनि खोलिसकेको उनले बताए । स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले गाउँपालिका यसप्रति गम्भीर रहेको शाहीको जोड छ ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नम्बर–१ का वडाअध्यक्ष रुपबहादुर मल्लले मृगौला रोग लागिसकेपछि धेरैले ज्यान गुमाएको स्मरण गर्दै रोग लाग्न नदिनका लागि गाउँपालिकाले प्रारम्भिक शिविर राख्नु आफैमा महत्वपूर्ण कुरा भएको बताए । रोग लागेपछि मात्र अस्पताल जाने परिपाटीको अन्त्य हुनुपर्ने उनको भनाई छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले बैजनाथका ४० वर्ष माथिका सर्बसाधारणलाई परीक्षण गर्ने ब्यवस्था मिलाइएको बताए । दिन प्रतिदिन मृगौला रोगका बिरामीको संख्या बढिरहेको अवस्थामा शिविर प्रभावकारी भएको उनको भनाई छ ।

शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, गाउँपालिकाका कार्यपालिका सदस्य रुपा थापा, चिसापानी स्वास्थ्य चौकीका प्रमुख प्रेम शाह, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।