सर्पदंशका बिरामीले समयमै उपचार पाए बाँच्छन्


सर्पदंशका बिरामीले समयमै उपचार पाए बाँच्छन्

नेपालगन्ज १५ जेठ : सर्पले डसेर अन्तिम अवस्थामा पुगेका बिरामी भेरी अस्पतालमा आएपछि नयाँ जीवन पाएका धेरै घटना छन् । डाक्टर कृष्ण आचार्यले सर्पले डसेका (टोकेका) बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले डसेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा पु¥याए बिरामीको ज्यान जोगिने बताउँछन् ।

सर्पले डस्दा गाउँटोलकै धामी, झाँक्री, गुरुवा वा अरु परम्परागत विधिमा नअल्झेर बिरामीलाई तुरुन्त सर्पदंश उपचार केन्द्र वा उपचार हुने प्रेषण अस्पतालमा ल्याउन उनको सुझाव छ ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेले ८० प्रतिशत बिरामीको अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु हुने गरेको बताउँछन् । उनले भने,‘सर्पले डसेमा प्रि–हस्पिटल केयर नै सबैभन्दा महत्वपूर्ण हुन्छ, समयमै अस्पताल ल्याउन सके अकालमै ज्यान गुमाउनुपर्दैन ।’

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर बद्री चापागाईँले सर्पले डसेमा सरकारी अस्पतालमा एन्टिस्नेक भेनम निःशुल्क भए पनि भेन्टिलेटर र अरु उपचार तथा औषधि महँगो पर्ने भएकाले विपन्न व्यक्ति मारमा परिरहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

नवलपरासीस्थित कालीगण्डकी अस्पतालका डा छविलाल थापा मगरले अस्पताल ल्याएका सबै सर्पदंशका बिरामीलाई भेन्टिलेटर आवश्यक नरहेको अनुभव सुनाउँदै विषालु सर्पले टोकेका व्यक्तिले समयमै एन्टिस्नेक भेनम पाएमा निको हुने बताए ।

उनले भने, ‘धामीझाँक्री कहाँ लगेर ल्याउँदा ढिलो हुन्छ, बाटोमै मृत्यु हुनसक्छ, सर्पले टोकेका व्यक्तिले समयमै उपचार पाए निको हुन्छ ।’

सर्पदंशबाट कसैको मृत्यु नहोस् भनेर विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र रोटरी क्लबको आयोजनामा नेपालका २५ जिल्लामा चार वर्षे सर्पदंश रोकथाम अभियान सुरु भएको छ ।

अभियानका क्रममा नेपाली, थारू, अवधि, भोजपुरी र मैथली भाषामा सर्पदंशबारे मिथिला कलामा आधारित पाँच भाषाको पोस्टर, रेडियो कार्यक्रम र पीएसएमार्फत जनचेतना जगाउने काम भइरहेको रोटरी क्लब काठमाडौँ मिड–टाउनका अध्यक्ष डाक्टर निर्मल रिजालले जानकारी दिए ।