गर्मीले काकाकुल बाँकेबासी, नेपालगन्ज र खजुराका बिद्यालय बन्द


गर्मीले काकाकुल बाँकेबासी, नेपालगन्ज र खजुराका बिद्यालय बन्द

साँकेतिक तस्विर

नेपालगन्ज १८ जेठः पछिल्लो समय बाँकेसहित पश्चिम नेपालको तराईमा गर्मी बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएकोछ ।

गर्मीका कारण काकाकुल भएका पश्चिम नेपालको बाँकेसहितका जिल्लामा प्रचण्ड गर्मीसँगै तातो हावा (लू) चल्दा यहाँको जनजिवन कष्टकर बनेको हो ।

गर्मी बढेपछि बाँकेको नेपालगन्ज र खजुराका बिद्यालय बन्द गरिएको छ । पछिल्लो समयमा अत्यधिक मात्रामा तातो हावा चल्दा जनजीवन कष्टकर बन्दै गएको छ । बिद्यार्थीहरु चर्को गर्मीका बीच पनि बिद्यालय जान बाध्य भइरहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका बिद्यालय बन्द गर्न निर्देशन दिएका हुन् । उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्रबहादुर शाहीले सामुदायिक, मदरसा र संस्थागत बिद्यालयलाई आगामी समयमा हुने बर्खे विदाबाट कट्टा हुने गरी यही जेठ २१ गते आईतबारदेखी २३ गते मंगलबारसम्म बन्द गरिएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘अत्यधिक गर्मी भई पठन पाठनमा अत्यधिक कठिनाई भएकोले यस प्रतिकुल मौसमलाई मध्यनजर गरी यस उपमहानगरपालिका अन्तरगत सञ्चालित सम्पूर्ण सामुदायिक (मदरसा समेत) तथा संस्थागत बिद्यालयमा आगामी समयमा हुने बर्खे विदाबाट कट्टा हुने गरी विदा गर्न भनेका छौं,’ उनले भने ।

यस्तै जिल्लाको खजुरा गाउँपालिका क्षेत्र भित्रका सबै विद्यालय पनि तीन दिनका लागि बन्द गरिएको छ । खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले एक सूचना जारी गर्दै तीन दिनसम्म सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् ।

खजुराले यही जेठ १७ गतेदेखी १९ गतेसम्म गर्मी विदा गर्न बिद्यालयलाई निर्देशन दिएको छ । ‘अत्यधिक गर्मीका कारण पठनपाठनमा कठिनाइ भएकाले वर्षे बिदाबाट कट्टी हुने गरी विद्यालयहरूबाट माग आएकाले उक्त माग बमोजिम शिक्षा समितिले तीन दिन गर्मी बिदा दिने निर्णय गरेको छ,’ मल्लले भने । जिल्लाका अन्य स्थानीय तह पनि गर्मी विदा गर्ने तयारीमा रहेका छन् ।