नेपालगन्ज ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा

बाँकेमा राप्तीसोनारी मात्र पूर्ण खोप सुनिश्चितता र दीगोपना घोषणा हुन बाँकी


नेपालगन्ज ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा

File Photo

नेपालगन्ज १ असार : नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आज पालिका स्तरीय खोप समन्वय समिति नेपालगन्जले आयोजना गरेको एक कार्यक्रमका बीच नेपालगन्जलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाभित्रका नियमित खोप लगाउन छुटेका ६९२ र कुनै पनि खोप नलगाएका १७७ गरी ८६९ बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

१६ देखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाको पहिचान गर्न माघदेखि वैशाखसम्म ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको थियो । त्यसअन्तर्गत छुटेका बालबालिकालाई अभियानले पुनः समेटेपछि नेपालगन्जलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने सातौं पालिका हो । नगरमा घरधुरी सर्वेक्षण र महिला स्वास्थ्य स्वयंसेविका परिचालनमा युनिसेफले आर्थिक तथा प्राविधिक सहयोग गरेको प्राविधिक सहयोग इकाई युनिसेफका तथ्यांक अधिकृत नवीन सुवेदीले बताए । नेपालगन्ज उपमहानगरपालिका २०७४ असार ३१ गते पूर्ण खोप घोषणा भएको थियो ।

घोषणासभा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिनतर्फ सबै सचेत भए दीगोपना सुनिश्चित हुने बताए ।

नगर प्रमुख प्रशान्त विष्टले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउने सवालमा उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । उनले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि योगदान पु¥याउने सबै स्वास्थ्यकर्मीको लगन र मेहनतको सराहना गरे । यस वर्ष फैलिएको दादुरा महामारीले पनि खोपको महत्व र आवश्यकता पुष्टि गरेको बताउँदै उनले असल स्वास्थ्यका लागि खोप अनिवार्य शर्त भएको बताए ।

घोषणासभा कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, स्वास्थ्य महाशाखा प्रमुख चन्द, वडा नम्बर १४ का स्वास्थ्य प्रमुख मोहन देवकोटा, महिला स्वास्थ्य स्वयंसेविका नारायणी रुपाखेतीलगायतले बोलेका थिए ।

जिल्लामा अब राप्तीसोनारीबाहेक सबै पालिका पूर्ण खोप सुनिश्चितता र दीगोपना घोषणा भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बालबालिकालाई अहिले १३ प्रकारका रोगविरुद्ध ९ प्रकारका खोप लगाउने गरिन्छ ।