नेपालगन्जको ४३ डिग्री तापक्रममा सडकमै सुतेर विद्युत कार्यालय घेराउ

नेपालगन्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी


नेपालगन्जको ४३ डिग्री तापक्रममा सडकमै सुतेर विद्युत कार्यालय घेराउ

नेपालगन्ज ३ असार : ४३ डिग्री तापक्रमबाट गुज्रिरहेको नेपालगन्जमा बिद्युत अनियमित हुँदा स्थानीयहरु मर्कामा परेकोभन्दै विद्युत नियमित गर्न माग गर्दै कार्यालय घेराउ गरेका छन् । अनियमित बिद्युत सेवाबिरुद्ध नागरिकले आईतबार नेपाल बिद्युत प्राधिकरणको नेपालगन्ज बितरण केन्द्र घेराउ गरेका हुन् ।

घेराउ गर्न पुगेका स्थानीयले बिद्युत अनियमित्ताबिरुद्ध चर्काे रुपमा नाराबाजी गरेका छन् । आक्रोशित स्थानीयले चर्काे गर्मीमा सडकमैं सुतेर बिरोध जनाएका छन् । स्थानीयले गत जेठ ११ गते बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुखलाई विद्युत नियमित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । तर, माग सुनुवाई नभएको उनीहरुको भनाइ छ ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा स्थानीय करिस्मा योगीले नेपाल बिद्युत प्राधिकरणले गर्मीयाममा बिद्युत सेवा अनियमित गरी अपराधजन्य काम गरिरहेको टिप्पणी गरिन् ।

यस्तै स्थानीय युवा प्रकाश कुवँरले गैरजिम्मेवार बिद्युतबिरुद्ध नागरिकहरु एक हुनुपर्ने बताए । नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले बिद्युत प्राधिकरणको चरम लापरवाहीले आम नागरिकहरुले सास्ति भोग्नुपरेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले समस्या समाधानका लागि बिद्युत कार्यालयले काम गरिरहेको बताए । ज्ञापनपत्रमा नेपालकै बढी गर्मी हुने सहरमध्येको नेपालगन्जका स्थानीयबासी बिद्युत अनियमित हुँदा दुःख पाएको उल्लेख छ ।

नेपालगन्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी

यसैबीच, नेपालगन्जमा तापक्रम बढेर करिब ४३ डिग्री पुगेको छ । तापक्रम बढेर ‘लु’ चल्ने क्रम बढ्दै गएपछि बाँकेको जनजीवन अस्तव्यस्त बनेको छ ।

केहीदिन यता नेपालगन्जको तापक्रम बढेर हालसम्मकै उच्च ४२.५ डिग्री सेल्सियससम्म पुगेको र तातो हावा लु का कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जले शनिवार र आईतबार नेपालगन्जमा यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ ।

सो कार्यालयका मौसम अवलोकनकर्ता रिमझिम केवटका अनुसार शनिवार र आईतबार नेपालगन्जको तापक्रम ४२.५ डिग्री मापन गरिएको छ । केवटले यो तापक्रम यस वर्षको अहिलेसम्मकै सबैभन्दा धेरै भएको जनाउँदै गत वर्ष यो समयमा नेपालगन्जको तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको बताए ।

उनले यो वर्ष गत वर्षभन्दा पनि बढी गर्मी भएको जनाउँदै, अब केही दिनमै पानी पर्ने र तापक्रम ओरालो लाग्ने सम्भावना रहेको बताए । तापक्रम बढ्दै जाँदा गर्मी अत्यधिक बढेकाले नेपालगन्ज बजार दिउँसो सुनसान देखिएको छ ।

काम विशेषले घरबाट बाहिर निस्कएका नेपालगन्ज–१८ का रवि चौहानले गर्मीका कारण सडकमै बेहोस भएर ढल्न लागेको बताए । साथीले उखुको जुस र पानी खुवाएपछि स्वास्थ्य नर्मल भएको बताए ।

अत्यधिक गर्मी र तातो हावा लु का कारण घरबाट बाहिर निस्कनेबित्तिकै चक्कर लाग्ने गरेको अधिकांश स्थानीयले बताएका छन् । असाध्य गर्मी तथा तातो हावाले गर्दा ग्रामीण क्षेत्रलगायत सहरी क्षेत्रका सरकारी कार्यालय, बजार पसल र विद्यालय प्रभावित भएका छन् ।

गर्मीकै कारण लोड थेग्न नसक्दा विद्युत आपूर्ति अनियमित हुँदा र भोल्टेज निकै कम आउँदा नेपालगन्जलगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको स्थानीयको गुनासो छ । विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले सकेसम्म विद्युत् आपूर्ति नियमित गर्ने प्रयास गरे पनि गर्मीको प्रभावले विद्युतीय उपकरण बिग्रिरहने कारणले थप समस्या निम्तिएको जनाएको छ ।

विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले दिनरात नभनि विद्युत् नियमित गर्ने कार्यमा आफूहरु खटिएको बताए । अथक प्रयास गर्दा पनि विभिन्न प्राविधिक कारणले सोचेजस्तो गर्न नसकिएको जनाए ।