भेरीका मेसु डा. चापागाई तोकिए ‘मंकिपक्स’ फोकल पर्शन


भेरीका मेसु डा. चापागाई तोकिए ‘मंकिपक्स’ फोकल पर्शन

नेपालगन्ज ५ असार : नेपालमा पहिलोपटक मंकिपक्सको संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले मंकिपक्स रोगको उपचारका लागि भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर बद्री चापागाईं सम्पर्क ब्यक्ति (फोकल पर्सन) तोकिएका छन् ।

मन्त्रालयले मंकिपक्स उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालसँगै देशका १४ अस्पतालमा चिकित्सकलाई सम्पर्क व्यक्ति तोकेको छ । मंकिपक्स फैलिन सक्ने र यसको जानकारीका लागि भन्दै उनीहरूलाई सम्पर्क व्यक्ति तोकेको हो ।

स्वास्थ्य मन्त्रालयले मेची अस्पताल, कोसी अस्पताल, बिपीकेआइएचएस धरान, जनकपुर अस्पताल, वीरगन्ज अस्पताल, गण्डकी अस्पताल, भरतपुर अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, पाटन अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, सुर्खेत अस्पताल र सेती अस्पतालका चिकित्सकलाई सम्पर्क व्यक्ति तोकेको हो ।

मेचीमा डा. केशव दाहाल, कोसीमा डा. सिबी झा, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूचना मरहठ्ठा, जनकपुरमा डा. रामज्ञान यादव, वीरगन्ज अस्पतालमा डा.अतुलेशकुमार चौरसिया, गण्डकीमा डा. आनन्द नेपाल, भरतपुर अस्पतालमा डा. शशी हिराचन, वीरमा डा. नीरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा.सर्वेन्द्र झालाई सम्पर्क व्यक्ति तोकिएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मोनिका काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा. मणिलाल श्रेष्ठ, सुर्खेत अस्पतालमा डा. सुस्मिता प्रधान र सेती अस्पतालमा डा. दिनेश सिवाकोटीलाई सम्पर्क व्यक्ति तोकिएको हो ।

काठमाडौंको एक अस्पतालमा उपचाररत ६० वर्षीया विदेशी महिलामा मंकिपक्स संक्रमण पुष्टि भएको छ  । संक्रमण पुष्टि भएसँगै थप फैलिएको हुन सक्ने भन्दै शंकास्पद अन्य केस खोजी भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म एक सय ११ वटा देशमा फैलिइसकेको मंकिपक्स संक्रमण संक्रामक रहेकाले सजगता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

मंकिपक्स अर्थात् एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउखटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै, थुक, ¥यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र कपडाबाट सर्ने भएकाले सजग रहन आग्रह गरिएको हो ।

चिकित्सकका अनुसार, संक्रमण भएमा ज्वरो आउने, ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्नेजस्ता लक्षण देखिन्छन् ।

थप समाचार

नेपालमा पहिलोपटक देखियो ‘मंकिपक्स’