जिप्रका बाँके मुद्दाफाँट : ‘लेनदेनले जनता हैरान

होटेल र रेष्टुरेन्टमा समेत बार्गेनिङ्, ५ बर्षदेखि मुद्दाफाँटका कर्मचारी एकै ठाउँमा


जिप्रका बाँके मुद्दाफाँट : ‘लेनदेनले जनता हैरान

नेपालगन्ज : तपाईलाई कसैले धम्क्यायो ? तपाइको घरमा चोरी भयो ? बैंक खातामा रकम नभएको चेक दिएर कसैले तपाइलाई ठगी गयो ? वा तपाइ अन्यायमा पर्नु भयो र न्याय चाहियो ? तपाइलाई परेका यी र यस्ता समस्या लिएर जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दाफाँटमा पुग्नु भयो भने तपाइले सजिलै न्याय पाउनु हुने छैन ।

जिप्रका मुद्दाफाँटबाट न्याय पाउन कि तपाइसँग पावर चाहियो कि त पैसा, अनि मात्र तपाइको समस्याको सुनुवाई हुने छ । हैन भने तपाइलाई परेको समस्या र अन्यायको तपाइले लेखेर ल्याएको उजुरी दर्ता हुने त परै जावस मुद्दाफाँटका कसैले पनि कुरा सुन्ने छैनन् ।

तपाइको कुराको सुनुवाई हुनलाई कि तपाइले एसपी र डिएसपी समक्ष कहिंबाट पावर लगाएर भन्न लाउनु पर्छ या मुद्दाफाँटमा पैसाको सेटिङ् मिलाउनु पर्छ । पैसाको सेटिङ् मिलाउनु भयो भने तपाइको काम सजिलै हुन्छ जिप्रका धाइ राख्नु पर्दैन । मुद्दाफाँटका कर्मचारीले फोनमै तपाइसँग सल्लाह गर्दै काम टुंगोमा पु¥याइ हाल्छन् । तर तपाइ पावर लगाएर मुद्दाफाँटमा काम गराउन जानु भयो भने सर्व प्रथम त तपाइले एक पटक बोलेको कसैले सुन्दैन । सर फलानोले पठाएको मेरो यस्तो समस्या छ भन्दा मुद्दाफाँटका कर्मचारीको रुखो बोली सहनु पर्छ ।

पीडित व्यक्तिको उजुरी त सजिलै जिप्रका बाँकेमा एकै पटकमा दर्ता नै हुदैन । उजुरी दर्ताका लागि पनि भनसुन चाहिन्छ । मुद्दाफाँटमा पावर र पैसको सेटिङ्मा काम हुन थालेपछि पावर र पैसा नभएका सर्वसाधारण अन्यायमा पर्न थालेका छन् । जिप्रका बाँकेको मुद्दाफाँटबाट सजिलै काम नभइरहेको जनताको गुनासो छ । समस्या लिएर गएका सिधा सर्वसाधारणलाई मुद्दाफाँटका कर्मचारीले एउटाले अर्कोलाई सिकाउने, अर्कोकोले अर्कोलाई सिकाउने गरिरहनाले पिडितले झनै पिडा खेप्नु परिरहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सबै भन्दा ठुलो बार्गेनिङ् बाउन्स चेकमा भइरहेको पिडितहरुको गुनासो छ । मुद्दाफाँटमा रकमको मोलमोलाई नभइ बाउन्स चेकको प्रक्रिया नै अगाडी पढ्दैन । पाँच लाखको बाउन्स चेक लिएर मुद्दाफाँट पुगेका नेपालगन्जका एक पिडितले सेतोखरीसँग भने ‘यति सानो रकमको चेक पनि के लिएर आउनु भएको हामीले पैसा निकालि दिएपछि कति प्रशेन्ट दिनुहुन्छ भने, मैले पहिले मेरो उजुरी त दर्ता गरिदिनुस् भन्दा उजुरी नै दर्ता नगरिदिएपछि फर्केर आए ।’

सेवाग्राहीसँग पैसाको बार्गेनिङ् गरेको थाहा पाएपछि मुद्दाफाँका असइ वसन्त केसीले एसपी सन्तोष सिंह राठौरबाट केही दिन अगाडी कुटाइ समेत खाएका छन् । यो खबर त बाहिर आएकै छैन । त्यति मात्र होइन मुद्दाफाँटमा कार्यरत मणी नाम गरेका सइले लेनदेन मुद्दामा एक महिलासँग एक लाख रुपैया खाएपछि तात्कालिन बाँकेका एसपी श्याम कृष्ण अधिकारीले ती सइलाई कार्वाही गरी भोजभगवानपुर पठाएका थिए । यी त उदाहरण मात्र हुन् । मुद्दाफाँटमा उजुरी पिच्छे केही न केही लेनदेन भइनै रहेको हुन्छ ।

जिप्रकाका एक प्रहरी अधिकृतले सेतोखरीसँग भने ‘सबै भन्दा बढी पैसाको लेनदेन वाउन्स चेकमा भइरहेको छ । कतिपय ठुला रकमको त होटेल र रेष्टुरेन्टमा बार्गेनिङ् हुन्छ । यहाँको मुद्दाफाँटका हवल्दार, असइ, सइ त ४,५ बर्ष देखि यहिं छन् । नेपाल प्रहरीको रेकर्डमा सरुवा भइरहन्छ दरवन्दि कहाँ हो कहाँ हुन्छ यहिं जरो गाडेर बसेका छन् । उनिहरुलाई पैसा कहाँबाट आउछ भन्ने सबै च्यानल थाहा हुन्छ । अनि मुद्दाफाँटमा नयाँ हाकीम आएपछि उनिहरुले नै गाइड गर्दछन् ।’

जिल्ला प्रहरी कार्यालय बाँके स्रोतका अनुसार, बाउन्स चेक सहित आएका ठुलो रकमका उजुरीहरु कतै न कतै बार्गेनिङ् च्यानलबाट भनसुन गरेरै आएका हुन्छन् । अझ बुझ्ने भाषामा भन्दा ‘मैले फोन गरिदिएको छु मुद्दाफाँटमा फलानोलाई गएर भेट्नुस्’ भनेर चेक बाउन्सको उजुरी आउछ । जसले फोन गरिदिएको हुन्छ मुद्दाफाँटको कर्मचारीलाई उसले कुराकानीमा भनिसकेको हुन्छ ‘थर्काएर, समातेर ल्याएर थुनेर के गरेर हुन्छ पैसा निकाली दिनुस् त्यस वापत म राम्रै रकम तपाइलाई छुट्याउन लाइदिन्छु ।’

‘अनी उक्त व्यक्ति बाउन्स चेकको उजुरी लिएर जिप्रका बाँकेमा त्यहि मुद्दाफाँटको कर्मचारीलाई भेटन जान्छ तुरुन्तै रेसपोन्स हुन्छ । उजुरी हातमा समातेर मुद्दाफाँटका कर्मचारी गोलघरमा बस्दै लेनदेन र ठगीका उजुरी हेर्छन् ।’ जिप्रका स्रोतले सेतोखरीसँग अगाडी भन्यो ‘अनि फोन घुमाउन सुरु हुन्छ । तपाईले यति रकमको चेक फलानोको नाममा काटेको हो ? यहाँ उजुरी आएको छ, जिप्रका आउनुस, लेनदेन मिलाउनु हुन्छ भने मिलाउनुस् हैन भने मुद्दा दर्ता हुन्छ तपाईलाई पक्राउ गरेर थुन्नु पर्ने हुन्छ । यति भने पछि त चेक काटेको मान्छे लल्याक लुलुक हुन्छ अनि पैसाको लेनदेन हुन्छ ।’

प्रहरी स्रोतका अनुसार अधिकांश लेनदेनका उजुरी मुद्दाफाँटबाट फोन गरेर थर्काएपछि नै निप्टीने गरेकाछन् । जो नदिने नियत र भाग्ने नियत गरेका व्यक्तीहरुछन् उनिहरुको बाउन्स चेकको मुद्दा दर्ता हुने गरेको छ ।

त्यहि मुद्दा फाँटमा विगतमा बसेका एक सइका अनुसार त मुद्दाफाँटका कतिपय कर्मचारीले परेका उजुरीहरुमा उक्त व्यक्तीलाई हदैसम्म टर्चर दिने अनि होटल रेष्टुरेन्टमा बोलाएर रकम लेनदेन र मिलापत्र गराइ उजुरी झिक्न लाउने समेत गर्दछन् । सवारी दुर्घटनाको केशमा पनि बढी लेनदेन हुने गरेको उनले बताए ।

उक्त कुरालाई जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले सिधै नर्कान सकेनन् । उनले पनि मुद्दाफाँटको बारे सर्वसाधारणको जन गुनासो आइरहेको बताए । एसपी राठौरले भने ‘तपाइले भने जस्तै म सँग पनि गुनासो आइरहेको छ । मुद्दाफाँटकालाई हेर है रकम लेनदेन भएको कहिंकतै थाहा पाएभने छोड्ने छैन कार्वाही गर्छु भनिरहेको हुन्छु यो बिषयलाई मैले गम्भिरता पुर्वक लिएको छ ।’ एसपी राठौरले सिंगो जिल्ला र प्रहरी संगठनलाई कडाइका साथ राम्रो गर्न खोजेको बताए ।