नेपालगन्ज : सरकारी तथ्याकंले प्रदेश पाँचमा गएको आर्थिक वर्षमा डेंगुका विरामी घटेको देखाएपनि बाँके लगायतका कतिपय जिल्लामा डेंगु संक्रमण बढ्दै गएको छ ।
बाँकेमा पनि डेंगुका विरामी भेटिने गरेको भेरी अस्पतालले बताएको छ । नेपालगन्जका सरकारी तथा निजी अस्पताल तथा क्लिनिकमा डेंगुका नयाँ विरामी आउन थालेका छन् ।
अस्पतालमा आउने अधिकांश डेंगुका विरामी भारतका विभिन्न शहर पुगेर आएका नै भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । भेरी अस्पतालमा नेकपा बाँकेका अध्यक्ष तथा प्रदेश साँसद आइपी खरेल समेत डेंगुको संक्रमणका कारण केहीदिन यता उपचारमा रहेको अस्पतालका मेडिकल सुपेरिटेण्डेन डाक्टर रुपानन्द अधिकारी बताउँछन् ।
डेंगुका कारण अति नै ग्रसित तथा सिरीयस रक्तकोष अति नै कम भएका विरामी आईहालेमा विरामीको उपचारमा समस्या देखिएको उनले बताए । अस्पतालमा डेंगु संक्रमणका विरामीको रगत जाँचका लागि आबश्यक पर्ने मेशिन रक्तकोष (प्लेटलेटस) को अभाव रहेको अस्पतालका फिजिसियन डाक्टर राजन पाण्डे बताउँछन् ।
उनकाअनुसार अध्यक्ष खरेललाई बाँकेमा नभई पाल्पा, अर्घाखाँचीतिर गएको बेला संक्रमण भएको हो । अहिले अध्यक्ष खरेललाई डेंगु संक्रमण देखिएपनि बाँकेमा आत्तिहाल्नुपर्ने गरी डेंगु नदेखिएको उनी बताउँछन् ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निकालेको तथ्यांकअनुसार पाँच वर्षअघिको तुलनामा गएको आर्थिक वर्षमा ११ गुणाले बढेको हो । तथ्यांकअनुसार गत आर्थिक वर्षमा देशका विभिन्न ठाउँमा गरी तीन हजार चार सय २५ जनामा डेंगुको संक्रमण भएको थियो । पाँच वर्षअघि डेंगुको बिरामी तीन सय दुईजना भेटिएका थिए ।
महाशाखाका अनुसार पछिल्लो तीन वर्षमा डेंगुको संक्रमण क्रमशः बढ्दै गएको हो । आर्थिक वर्ष २०७३/०७४ मा एक हजार पाँच सय २७ जना, आर्थिक वर्ष २०७४/०७५ मा दुई हजार एक सय ११ जना र आर्थिक वर्ष २०७५/०७६ मा तीन हजार चार सय २५ जनामा डेंगुको संक्रमण भेटिएको थियो ।
महाशाखाका अनुसार पछिल्लो आर्थिक वर्षमा डेंगुको महामारीको रूप लिएको प्रदेश नम्बर १ मा सबैभन्दा बढी केश तीन हजार एक सय ५२ जनामा संक्रमण भएको तथ्यांक छ । सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएको छ ।
तथ्यांकअनुसार गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा एकजनामा मात्रै डेंगु भेटिएको थियो । बढी भेटिने दोस्रो नम्बरमा प्रदेश नं ३ रहेको छ । जसमा एक सय २६ जनामा डेंगु संक्रमण भएको महाशाखाले निकालेको रिपोर्टमा रहेको छ ।