बाँकेमा ५३९ क्षयरोगी थपिँदा, ६ जनामा एचआइभी


सेतोखरी सेतोखरी   आइतबार, चैत ११, २०८०
बाँकेमा ५३९ क्षयरोगी थपिँदा, ६ जनामा एचआइभी

नेपालगन्ज ११ चैत्र : बाँकेमा पछिल्लो ७ महिनामा ५३९ जना नयाँ क्षयरोगी थपिएकाछन् । भने ६ जनामा एचआइभी संक्रमण पोजिटेभ पाइएकोछ । विश्व क्षयरोग दिवसका अवसरमा आईतबार नेपालगन्जमा आयोजित पत्रकार अन्तरक्रियामा उक्त तथ्य बाहिरिएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्रकुमार साहका अनुसार नेपालबाट सन् २०५० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य छ भने सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

Tb_diwas_2080_21711292248.jpg

क्षयरोगीहरुको उपचारका लागि नेपालमा स्थापना गरिएका डट्स सेन्टरको संख्या ६२०९ छ । यी सेन्टरबाट नियमित उपचार चलिरहेको छ । लुम्बिनी प्रदेशमा यो संख्या ९०२ रहँदा बाँकेमा ८७ वटा डट्स सेन्टर छन् । साहका अनुसार मुलुकभर जीर्ण क्षयरोग सेन्टर २४, लुम्बिनीमा ४ र बाँकेमा १ वटा छन् ।

Kids Festival 2022
kanti aarogya hospital

चालू आर्थिक वर्षको सात महिनामा मात्रै जिल्लामा ५३९ जना क्षयरोगी थपिएको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन साहले जानकारी दिए । चालू आर्थिक वर्षमा क्षयरोग पुष्टि भएका मध्ये ६ जना एचआइभी पोजिटिभ रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा बाँकेमा १ हजार १ सय २ जना क्षयरोगी पत्ता लागेको साहले बताए । ती क्षयरोगी मध्ये ५ जनामा एचआइभी पोजिटिभ समेत रहेको थियो ।

नेपालमा क्षयरोगबाट हुने मृत्युदर ३ प्रतिशत रहेको छ । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशमा ३.३ र बाँकेमा २.८ प्रतिशत क्षयरोगबाट हुने मृत्युदर रहेको तथ्यांक प्रस्तुत गरिएको थियो ।

Tb_diwas_2080-31711292269.jpg

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताए । ‘क्षयरोगबारे सचेत बनाउन सकियो भने नियन्त्रणमा लिन सहज हुन्छ’, शाहीले भने । 
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । त्यसक्रममा स्वास्थ्य कार्यालय बाँकेका नसर्ने रोग फोकल पर्सन नरेश श्रेष्ठ र टिबी नेपालका कमल ढकालले आफ्ना प्रस्तुतिकरण राखेको थिए ।

स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक दुर्गा गौतमले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।