एसईई परीक्षा शुरु, बाँकेका नौ हजार २९३ परीक्षार्थी सहभागि 

३५ प्रतिशतभन्दा कम अंक ल्याए कक्षा ११ मा भर्ना हुन नपाइने


सेतोखरी सेतोखरी   बिहीबार, चैत १५, २०८०
एसईई परीक्षा शुरु, बाँकेका नौ हजार २९३ परीक्षार्थी सहभागि 

File Photo

नेपालगन्ज १५ चैत्र : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ ।

यो वर्ष बाँके जिल्लाबाट नौ हजार २९३ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदैछन् । एसईईमा चार हजार ७६३ छात्र र चार हजार ५३० छात्रा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेको कार्यालयले जनाएको छ । 

परीक्षाका लागि बाँकेमा ३४ परीक्षा केन्द्र तोकिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा ९, कोहलपुर नगरपालिकामा १०, बैजनाथ, राप्तीसोनारी र खजुरा गाउँपालिकामा चार÷चार, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकामा एक÷एक वटा परीक्षा केन्द्र राखिएका छन् ।

यसैबीच, एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी  देशभरबाट १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।