सोल्टीको माहजोङ्ग क्यासिनोमा नेपालीको ओइरो


सेतोखरी सेतोखरी   बिहीबार, चैत १५, २०८०
सोल्टीको माहजोङ्ग क्यासिनोमा नेपालीको ओइरो

नेपालगन्ज १५ चैत्र : नेपालगन्जको सोल्टी होटलमा रहेको माहजोङ्ग क्यासिनोमा जुवा खेल्न नेपालीको ओइरो लाग्ने गरेकोछ । नेपालका कुनै पनि क्यासिनोमा नेपालीलाई प्रवेशमा प्रतिबन्ध रहेपनि होटल सोल्टीमा रहेको माहजोङ्ग क्यासिनोले भने नेपालीहरुलाई सजिलै प्रवेश गराई जुवा खेलाउने गरेकोछ । 

कानूनतः कुनै पनि नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न परै जाओस् प्रवेश पनि गराउन पाइदैन । तर, यस माहजोङ्ग क्यासिनोमा जुवा खेल्ने प्रमुख ग्राहक नै नेपाली रहेकाछन् । दैनिकजसो नै क्यासिनोमा जुवा खेलिरहेका नेपाली ग्राहक नै हुनेगर्छन् । सोल्टी कै माहजोङ्ग क्यासिनो जुवा खेलेर कयौं नेपाली त घरबार विहीन नै भइसकेकाछन् ।

नेपालगन्जकै ब्यक्तिहरु जतिखेर मन लाग्यो उतिखेर सिधै यस माहजोङ्ग क्यासिनोमा जुवा खेल्न प्रवेश गरिरहेको दृष्य दैनिकजसो देख्न सकिन्छ । यो क्यासिनोमा जुवा खेलेर नेपालगन्जकै आधा दर्जनभन्दा बढि नेपाली त घरबारविहीन भइसकेकाछन् । माहजोङ्ग क्यासिनोमा जुवा खेल्न गएका एक नेपालीले सेतोखरीसँग भने–‘हामी त रक्सि खान मन लाग्यो भने पनि यही क्यासिनोमा जान्छौं, जति जुवा खेले पनि रक्सी खाए पनि पाइन्छ ।’

ती नेपालीले माहजोङ्ग क्यासिनोमा जुवा खेल्न नेपालीलाई कुनै रोकटोक नभएको बताए । ‘अरुलाई रोक्छ होला, यीनिहरुले जुवा खेल्छन भन्ने थाहा छ । हामीलाई कहिल्यै रोक्दैन । अरु नेपाली पनि हुन्छन्, आउने जाने चलिरहन्छ ।’ उनले धेरै नेपालीहरु यो क्यासिनोमा जुवा खेल्न आइरहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

माहजोङ्ग क्यासिनोमा जुवा खेल्न दाङ्ग, सुर्खेत, पोखरा, बर्दिया, टिकापुरबाट समे नेपालीहरु आउने गरेको त्यही क्यासिनोका एक कर्मचारीले बताए ।

एक साता अघिमात्र नेपालगन्जका दुई जना नेपाली नागरिक जुवा खेलेर दश लाख रुपैयाँ हारेर आएका छन् । त्यहाँ जुवा खेल्न आउने नेपाली नागरिकको भारतीय आधारकार्ड बनाएर क्यासिनोले जुवा खेलाउने गरेको बताइएकोछ। 

माहजोङ्ग क्यासिनो नेपालगन्जका जनरल म्यानेजर निरज प्रधानले आफूहरुले भारतीयसहितका विदेश नागरिकलाई मात्र क्यासिनोमा प्रवेश गर्न दिने गरेको बताए । उनले नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश नदिने गरेको प्रधानले बताए ।