काँग्रेस सभापती देउवाले गरे खुमबहादुरको सालिक अनावरण


सेतोखरी सेतोखरी   शुक्रबार, चैत १६, २०८०
काँग्रेस सभापती देउवाले गरे खुमबहादुरको सालिक अनावरण

नेपालगन्ज १६ चैत्र : नेपाली काँग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय नेता खुमबहादुर खड्काको सालिक अनावरण गरेका छन् । सभापति देउवाले दाङको लमही नगरपालिका–९ स्थित अमिलिया बजारमा निर्मित स्वर्गीय खड्काको पूर्ण कदको सालिक एक कार्यक्रमका बीच अनावरण गरेका हुन् । 

बुद्ध एयरको जहाजबाट विहान पौने ९ बजे नेपालगन्ज विमानस्थल अवतरण गरेका देउवा केहीबेरको बसाईपछि स्थलमार्ग भएर दाङ पुगेका थिए । दाङमा स्वर्गीय खड्काको पूर्ण कदको सालिक अनावरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले खड्का असल नेता भएको बताए । 

उनले प्रजातन्त्रका बेला आफू दुई जनासँगै जेल परेको स्मरण गर्दै भने–‘ खुमबहादुरलाई झुटा आरोप लगाएर फसाउन खोजियो र फसाए पनि,’ देउवाले अगाडी थपे, ‘तर पनि उहाँको व्यक्तित्वमा कुनै असर परेन । झनै पार्टीपंक्ती र कार्यकर्तामाझ उहाँको प्रभाव बढेर गयो ।’

खड्का जनताको हितका लागि जस्तोसुकै कदम उठाउन पछि नपर्ने व्यक्ति भएको देउवाको भनाइ छ । ‘खुमबहादुर ठूलो हिम्मतका साथ अडान राख्ने व्यक्ति हो,’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘प्रजातन्त्र र साथीभाइका जायज कामका लागि जस्तोसुकै कष्ट उठाउन तयार हुने व्यक्ति पनि उहाँ हो ।’

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

नेपालगन्जमा भब्य स्वागत

सालिक अनावरण गर्न बुद्ध एयरको जहाजबाट विहान नेपालगन्ज आइपुेगका काँग्रेसका सभापति देउवालाई नेपालगन्जमा भब्य स्वागत गरिएको थियो । दाङको अमिलिया जानका लागि पुर्बप्रधानमन्त्री देउवा शुक्रबार बिहान नेपालगन्ज आईपुगेका थिए । 

देउवालाई विमानस्थलमा नेता तथा कार्यकर्ताले भब्य स्वागत गरेका थिए । सभापति देउवासँगै काँग्रेस सह–महामन्त्री महालक्षी उपाध्याय ‘डिना’, केन्द्रिय सदस्य दीपक गिरी, कृष्णकिशोर घिमिरे र गोविन्दबहादुर शाह तथा स्वर्गीय नेता खड्काका पुत्र एवम प्रदेश सांसद अनुराग खड्का पनि नेपालगन्ज आएका थिए ।

नेपाली काँग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा, प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु, लुम्बिनी प्रदेशका पुर्बमन्त्री सुरेन्द्र हमाल, नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, उपसभापति कृष्ण कार्की लगायत पार्टीका महासमिति, महाधिवेशन प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता लगायतले सभापति देउवालाई स्वागत गरे ।

सभापति देउवा नेपालगन्ज विमानस्थलबाट सिधै दाङको अमिलिया प्रस्थान गरेका थिए । बाँके र दाङको सीमा नजिक रहेको अमिलिया चोकमा स्वर्गीय खड्काको शालिक अनावरण पश्चात शुक्रबार बेलुका नै बुद्ध एयरबाट काठमाडौ फर्किएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।