काँग्रेस महामन्त्री थापाको कार्यक्रम सफल बनाउन सुझाव


सेतोखरी सेतोखरी   सोमबार, चैत २६, २०८०
काँग्रेस महामन्त्री थापाको कार्यक्रम सफल बनाउन सुझाव

नेपालगन्ज २६ चैत : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले थालेको संवाद यात्राका क्रममा बाँकेको क्षेत्र नम्बर–२ मा हुन लागेको कार्यक्रमलाई सफल बनाउन आवश्यक सुझाव दिइएको छ । काँग्रेस क्षेत्र नम्बर–२ बाँकेको आयोजनामा आगामी २०८१ साल बैशाख १ गतेका दिन बाँकेको कम्दी र नेपालगन्जको त्रिभुवन चोकमा हुन लागेको कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन सुझाव दिइएको हो । 

काँग्रेस क्षेत्र नम्बर–२ का सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा सोमबार सम्पन्न छलफलमा उपस्थित पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ता र शुभेच्छुक संस्थाका प्रतिनिधि लगायतले सुझाव दिदै कार्यक्रमलाई सफल पार्न कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिए । 

पार्टीका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल बाल्मिकीले महामन्त्री थापाको संवाद यात्रालाई सफल पार्न सम्बन्धित क्षेत्रभित्र रहेका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए । ‘पार्टीका सबै तहका कार्यकर्तालाई जिम्मेवार बनाउन जरुरी छ,’ बाल्मिकीले भने । 

यस्तै राष्ट्रिय सभाका सदस्य एवम् काँग्रेस बाँकेका पूर्वसभापति युवराज शर्माले महामन्त्री थापाले संवाद यात्राका क्रममा पार्टीको हितमा बोल्ने र त्यसले कार्यकर्तामा उत्साह थप्ने विश्वास गरे । यात्राका क्रममा महामन्त्री थापाले गुटको बैठकभन्दा आमपार्टी कार्यकर्तालाई समय दिएर उनीहरुका समस्या र मर्का बुझ्नुपर्ने सुझाव दिए । यसैगरी काँग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले विगतको भन्दा ब्यापक सहभागितामा महामन्त्री थापाको कार्यक्रमलाई सफल बनाउनुपर्ने बताए । 

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

‘महामन्त्री ज्यूको कार्यक्रमलाई विगतको जस्तो खल्लो हुन नदिऔं, हामीले कहाँनिर के सहयोग गर्नुपर्छ, सहयोग गर्न जिल्ला समिति तयार छ,’ उनले भने । 

सो क्रममा नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वजिल्ला उपसभापति सुनिल नरसिंह राणा, जिल्ला सचिव सुधान्सु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, नेताहरु राजकुमार बर्मा, सुदिप नरसिंह राणा, मुकुन्द केसी, प्रहलाद लखेर, महासमिति सदस्य सुलोचना शर्मा, लुम्बिनी प्रदेशका पुर्वसांसद मोहम्मद याकुव अन्सारी,  जिल्ला सदस्य अमृतकुमार आचार्य, नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक सभापति धनराज बर्मा, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, लोकतान्त्रिक खेलकुद संघ बाँकेका अध्यक्ष बदुरुद्धिन अन्सारी, प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, काँग्रेस युवा नेता अरुणकुमार शाह लगायतले सुझाव दिएका थिए । 

क्षेत्रीय सभापति गुप्ताले महामन्त्री थापाको कार्यक्रमलाई भब्य रुपमा सफल पार्न क्षेत्रीय कार्यसमितिले पार्टीका सबै तहका नेता तथा कार्यकर्तासँग छलफल गर्ने बताए । क्षेत्रीय सचिव सुनिलसिंह हमालले सञ्चालन गरेको उक्त छलफलमा प्रदेश सभा–२ ‘ख’ का सभापति जितेन्द्रबहादुर हमाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, काँग्रेस क्षेत्र नम्बर–२ का क्षेत्रीय सचिव प्रदीप साहसहित कार्यसमिति पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।