बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम

दोस्रो चरणमा ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने


सेतोखरी सेतोखरी   शुक्रबार, चैत ३०, २०८०
बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम

File Photo

नेपालगन्ज ३० चैत्र : राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणअन्तर्गत ६ र ७ बैशाखमा भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका स्वास्थ्य प्रशासक लीलाविक्रम थापाकाअनुसार ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । १ देखि ५ वर्षसम्मका करिब २९ लाख बालबालिकालाई जुकाको औषधि दिइने उनले जानकारी दिए । 

देशभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुले ७ वटै प्रदेशका स्थानीय खोप केन्द्रहरुबाट बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउनेछन् । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने यो कार्यक्रममा सरकारको झण्डै ९ करोड ५१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रत्येक वर्ष दुई चरणमा खुवाइने भिटामिन ‘ए’ र जुकाको औषधि पहिलो चरण कात्तिकमा र दोस्रो चरण बैशाखमा खुवाइन्छ । गत कात्तिकमा भिटामिन ‘ए’ कार्यक्रमको पहिलो चरणअन्तर्गत करिब ९० प्रतिशत बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको थियो । यसैगरी, ८७ प्रतिशत बालबालिकाले जुकाको औषधि दिइएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

भिटामिन ‘ए’ को कमीको रोकथाम र उपचारका गर्ने उद्देश्यले वि.सं. २०५० सालबाट ८ जिल्लाबाट भिटामिन ‘ए’ कार्यक्रम सुरु भएको थियो । अहिले यो कार्यक्रम देशभरका ७७ जिल्लामैं लागु भएको छ । यस्तै, वि.सं. २०५६ सालबाट १३ जिल्लाबाट परजीवि (जुका) नियन्त्रण कार्यक्रम लागु भएको थियो । यो कार्यक्रम पनि अहिले ७७ वटै जिल्लामा लागु छ ।