बाँके सिडियो पोखरेलद्वारा गृह मन्त्रालयको निर्देशन उल्लङघन


सेतोखरी सेतोखरी   शनिबार, वैशाख १, २०८१
बाँके सिडियो पोखरेलद्वारा गृह मन्त्रालयको निर्देशन उल्लङघन

बागेश्वरी मन्दिर परिसरमा फुलको माला लगाएका (दायाँ) खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ (बायाँ) बाँके प्रजिअ श्रवणकुमार पोखरेल । तस्विर : सेतोखरी

नेपालगन्ज १ वैशाख: बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले गृह मन्त्रालयको निर्देशन उल्लङ्घन गरेकाछन् । 

रवि लामिछाने गृहमन्त्री भइसकेपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई बाहिरबाट आएका कुन–कुन अतिथिलाई भेट्न जाने–नजाने, स्वागत र विदाई गर्न जाने–नजाने तथा कसको कार्यक्रममा उपस्थित हुने–नहुने निर्देशन नै जारी गरेकोछ । तर, बाँकेका सिडियोले भने गृह मन्त्रालयको उक्त निर्देशनलाई लत्याएकाछन् ।

गृह मन्त्रालयले यही चैत्र १२ गते सचिवस्तरीय निर्णय गर्दै देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिदैँ पत्र पठाएको थियो । उक्त पत्रमा विभागीय मन्त्री बाहेक अन्य मन्त्रीको स्वागत तथा विदाईका लागि प्रमुख जिल्ला अधिकारीलाई नजान भनेकोछ । तर, बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेल भने खेलकुद मन्त्री श्रेष्ठलाई भेट्न बागेश्वरी पुगे ।

गृह मन्त्रालयले निर्देशन दिएको उक्त पत्रको एक नम्बर निर्णयमा ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ बमोजिम अति विशिष्ट व्यक्तिहरु र विभागीय मन्त्रीको रुपमा गृहमन्त्रीज्यू बाहेक अन्य विशिष्ट व्यक्तिहरुको जिल्लामा भ्रमण हुँदा कार्यालयको काम छोडी प्रवेश बिन्दु र प्रस्थान बिन्दुमा स्वागत तथा विदाईको लागि नजाने’ भनिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकेमा मानवअधिकारबादी संघसस्था, पेशागत संघसंस्था लगायत थुप्रैले बोलाएका कार्यक्रमहरुमा गृह मन्त्रालयको निर्देशनले जान नमिल्ने भन्दै उपस्थित नहुने गरेका बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेल गृह मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै सुटुक्क शुक्रबार विहान खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई स्वागत गर्न बागेश्वरी मन्दिर पुगे ।

एकातिर गृह मन्त्रालयको निर्देशन भन्दै मानवअधिकारका बारे भएका संवेदनशील र गम्भीर कार्यक्रममा उपस्थित नहुने गरेका प्रजिअ पोखरेल स्वतन्त्र पार्टीकै खेलकुद मन्त्री श्रेष्ठ आएको थाहा पाउने वितिक्कै स्वागत गर्न बागेश्वरी मन्दिर पुगेको देखिन्थ्यो ।

बाँके प्रहरीका अनुसार जुम्ला जान लागेका खेलकुद मन्त्री श्रेष्ठ बागेश्वरीको दर्शन गर्न पुगेका थिए । खेलकुद मन्त्री श्रेष्ठ बागेश्वरी दर्शन गर्न आउन लागेको खबर पाएपछि बाँकेका प्रजिअ पोखरेल केहीसमय अगाडी गएर बागेश्वरी मन्दिर परिसरमा स्वागतका लागि उभिएर पर्खेका थिए ।

‘मन्त्री ज्यू आउन थालेकाले सिडियो साब पहिले नै स्वागतका लागि बागेश्वरीमा आइ बस्नुभएको थियो । मन्त्री ज्यू आएपछि स्वागत गर्दै सिडियो साब र मन्त्री ज्यूले संगै बागेश्वरीको दर्शन गर्नुभयो ।’ बाँके प्रहरीले सेतोखरीसँग भन्यो–‘पुजारीले दुवैजनालाई फुलको माला लगाइदिनुभयो । सिडियो साबले मन्त्री ज्यूको स्वागत गरिसकेपछि मन्त्री ज्यू मन्दिरबाट निस्किनुभयो ।’