नेपालगन्जमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन अभियान सुरु


सेतोखरी सेतोखरी   मंगलबार, वैशाख ४, २०८१
नेपालगन्जमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन अभियान सुरु

नेपालगन्ज ४ वैशाख : नेपालगन्ज उपमहानगरपालिकाले धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडी बढाएको छ । नयाँ वर्ष २०८१ को प्रारम्भसँगै धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानकै रुपमा अगाडि बढाइएको हो ।

पहिलो चरणमा सचेतना प्रवद्र्धन र कानूनी प्रावधानबारे सचेत बनाउने गरी नेपालगन्ज उपमहानगरपालिका अगाडि बढेको छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थको कानूनसम्मत विक्री वितरण, सार्वजनिक ठाउँहरुमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवनदर घटाउने उद्देश्यका साथ अभियान थालिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जटिलता, पारिवारिक तनाव र सामाजिक व्यवहारको असरलाई जनमानसमा सञ्चार गर्दै स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ अभियानलाई प्रभावकारीरुपमा अगाडी बढाउने नगर प्रमुख विष्टको भनाइ छ ।

सचेतना प्रवद्र्धनको अभियानसँगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडी बढाउने नीति नेपालगन्ज उपमहानगरपालिकाले लिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । उनले सार्वजनिक ठाउँ, निकाय र पसलहरुमा नियमन गर्ने बताउँदै पालना नगरेको पाइए सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ बमोजिम कारबाही गरिने स्पष्ट पारे ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज उपमहानगरपालिकाले आज बिहान प्रभातफेरी गरेर अभियानको औपचारिक थालनी गरेको छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतनामूलक प्रभातफेरी गरिएको हो । भेरी अस्पतालबाट सुरु भएको प्रभातफेरी त्रिभुवनचोकमा पुगेर समापन भएको थियो ।