नेपालगन्जका ई–रिक्सा चालकलाई परिचयपत्र वितरण सुरु


सेतोखरी सेतोखरी   बुधबार, वैशाख ५, २०८१
नेपालगन्जका ई–रिक्सा चालकलाई परिचयपत्र वितरण सुरु

नेपालगन्ज ५ वैशाख : नेपालगञ्जको एक समस्याको रुपमा देखिएको ई–रिक्सा व्यवस्थापनको कामलाई चुस्त बनाउन नेपालगन्ज उपमहानगरपालिकाले सुरु गरेको छ । 

नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण सुरु गरेको छ । चालक परिचयपत्रसँगै ई–रिक्सा चालकलाई विभिन्न किसिमका सुविधा र प्राविधिकबारेमा पनि अभिमुखिकरण गर्ने कामको सुरु गरिएको छ । 

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले मंगलबार सुरुमा १ सय १७ जनालाई चालक परिचयपत्र र ज्याकेट वितरण गरेका थिए । नेपालगन्जमा ई–रिक्सा व्यवस्थापन गर्न नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय ई–रिक्सा चालकलाई परिचयपत्र, वीमा र अभिमुखिकरणजस्ता कार्यक्रम गर्दैआएको छ । 

थप प्रभावकारी गराउन उपमहानगरपालिकाले बजेट बिनियोजन गर्ने नगर प्रमुख विष्टले बताए । नेपालगन्जमा नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिले व्यवस्थापनमा ई–रिक्सा व्यवस्थापनको काम गरिरहेको छ । 
नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले ई–रिक्सा चालकको सुरक्षाका लागि परिचयपत्रसहित स्वास्थ्य वीमा योजना अगाडि बढाइरहेको बताए । उनले भने, ‘नेपालगन्जमा ई–रिक्साको व्यवस्थापन गर्न जरुरी छ । ई–रिक्सा निम्नवर्गको जनताको आर्थिक आम्दानी गर्ने माध्यम बनेको छ ।’ 

Kids Festival 2022
kanti aarogya hospital

ई–रिक्साले यातायातलाई सहज पनि बनाएको स्थानीयको भनाइ छ । तर यसको सही रुपमा व्यवस्थापन नहुँदा थुप्रै समस्या सिर्जना भएको छ । सुधार गर्न प्रयास भइरहेको उनले बताए । ई–रिक्सा चालकले पनि नेपालको कानून र ट्राफिक नियमबारेमा जानकारी भएर सवारी साधन चलाउन ध्यान दिनुपर्ने प्रमुख विष्टले बताए । 

नेपालगन्ज उप–महानगरपालिकाले वितरण गरेको चालक अनुमतिपत्रले नेपालगन्जमा ई–रिक्सा व्यवस्थापनमा सहयोग पुग्ने प्रमुख विष्टले बताए । नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमारसिंह ठकुरीले ई–रिक्सा चालकलाई विज्ञबाट ट्राफिक नियम तथा बिमाबारेमा अभिमुखिकरण गराउँदैं चालक परिचयपत्र वितरण गरिने बताए ।

नेपालगन्ज उपमहानगरपालिकामा भएको कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्चार्ज वरिष्ट सई प्रविण आर्चायले ई–रिक्सा चालकलाई ट्राफिक नियमबारे जानकारी गराए । ट्राफिक नियमबारेमा जानकारी नहुँदा नेपालगन्जमा ई–रिक्सा दुर्घटनाको संख्या बढिरहेको बताए ।