नेपालगन्जमा ह्वात्तै बढ्यो गर्मी, जनजीवन प्रभावित


सेतोखरी सेतोखरी   सोमबार, वैशाख १०, २०८१
नेपालगन्जमा ह्वात्तै बढ्यो गर्मी, जनजीवन प्रभावित

नेपालगन्ज १० वैशाख : नेपालगन्जमा ह्वात्तै गर्मी बढेको छ । गर्मी बढेसँगै तातो हावा चल्दा यसक्षेत्रको जनजीवन कष्टकर बनेको हो ।

पछिल्ला केही दिनदेखि बढ्दै गइरहेको चर्को गर्मी र दिउँसोको समयमा चल्ने सुख्खा तातो हावाका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री पुगेपछि घर बाहिर निस्कन र हिँडडुल गर्न समस्या भएको हो ।

चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्ने वर्गलाई धेरै प्रभाव पारेको छ । दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदूरहरूलाई समस्या परेको हो । दिउँसोको तातो हावाका कारण मानिसहरू घरबाट बाहिर निस्किने गरेका छैनन् । अत्यावश्यक काममा हिँड्ने मानिसबाहेक सडकमा भिडभाड देखिँदैन । दिउँसोमा नेपालगन्जको सडक सुनसान जस्तो देखिन्छ । 

बढ्दो गर्मीका कारण स्थानीयले खेतबारीको काम साँझ र बिहान गर्ने गरेका छन् । तातो हावा चल्दा त्यहाँका स्थानीय पनि यसको मारमा परेका छन् । खेतबारीमा पाकेको गहुँ स्थानीयले साँझ र बिहानको समयमा काट्ने गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

दिउँसोको समयमा सुनसान जस्तो देखिने नेपालगन्जको बजार साँझको समयमा भने भिडभाड हुने गरेको छ । साँझको समयमा विभिन्न चोक तथा पसलहरूमा काँक्रो, तर्भुज, खर्भुजा, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थहरू सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ ।

केही दिनदेखि नेपालगन्जमा तातो हावा चले पनि यसलाई ‘लु’ भने भन्न नमिल्ने जल तथा मौसमविज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जका फिल्ड इन्चार्ज मिना सिवाकोटी बताउँछिन् । लू हुनलाई दुई–तीन दिनसम्म ४० डिग्री भन्दा माथिको तापक्रम एउटै रेसियोमा भए लू भन्न सकिन्छ ।

शनिवार नेपालगन्जको अधिकतम तापक्रम ४० दशमलव ७ डिग्री सेल्सियस मापन पुग्दा आईतबार भने नेपालगन्जको अधिकतम तापक्रम ३८ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । 

तापक्रम बढ्ने तथा घट्ने क्रममा देखिन्छ । अझै एक हप्तासम्म पानी पर्ने सम्भावना छैन । नेपालगन्जमा चर्को गर्मी र तातो हावाबाट जनजीवन अझै धेरै कष्टकर बन्ने देखिन्छ । नेपालगन्ज देशकै सबैभन्दा बढी गर्मी हुने स्थानमा पर्छ ।

विहान १० बजेपछि बेलुका ५ बजेसम्मको समयमा नेपालगन्जमा अत्यधिक चर्को गर्मी हुने र सुख्खा तातो हावा चल्ने गरेको छ । चर्को गर्मी र सुख्खा तातो हावाका कारण नेपालगन्जको जनजीवन कष्टकर बन्दै गएको छ ।

गर्मी बढेसँगै तातो हावा चल्दा स्वास्थ्य समस्याको जोखिम पनि बढेको छ । तातो हावा चलेपछि स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले चनाखो रहन चिकित्सकहरुले सुझाव दिएका छन् । चर्को गर्मी र तातो हावाका कारण अस्पताल आउने बिरामीको सङ्ख्या बढ्दै गएको भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डाक्टर सङ्केत रिसाल बताउँछन् । 

‘विशेष किसिमको कर्ण मिसिएको धुलो उडिरहेको छ, यसले गर्दा दम, फोक्सो, छाला, पेटसम्बन्धीका बिरामीहरूको चाप ह्वात्तै बढेको छ ।’ डाक्टर रिसालले भने,‘खाना नपच्ने, पखाला, छालालगायतका बिरामीहरू धेरै देखिएका छन् ।’

तातो हावाले वायु प्रदुषण हुने र यसले बालबालिका, बृद्धबृद्धा र विरामीको श्वास प्रश्वासमा असर पुर्याउने डाक्टर रिसाल बताउँछन् । यस्तो गर्मीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कुनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्ने उनको सुझाव छ ।