लगातार तेस्रोपटक भेरी अस्पताल बन्यो देशकै उत्कृष्ट संघीय अस्पताल


सेतोखरी सेतोखरी   मंगलबार, वैशाख ११, २०८१
लगातार तेस्रोपटक भेरी अस्पताल बन्यो देशकै उत्कृष्ट संघीय अस्पताल

नेपालगन्ज ११ वैशाख : देशमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा बाँकेको नेपालगन्जस्थित भेरी अस्पताल लगातार तेस्रोपटक उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा भेरी अस्पताल उत्कृष्ट घोषित भएको हो ।

पहिलोपटक मूल्यांकनमा ६१ प्रतिशत अंकसहित संघीय अस्पतालहरुमा प्रथम स्थानमा पुगेको भेरी अस्पतालले दोस्रोपटक ६७ प्रतिशत अंकसहित प्रथम स्थान कायम राख्न सफल भएको थियो । गतवर्ष ७५ प्रतिशत अंकसहित देशमै प्रथम भएको भेरी अस्पतालले यसवर्ष कुल ८० प्रतिशत अंक प्राप्त गरेकोले पुनः ह्याट्रिक गर्दै भेरी अस्पताल देशकै उत्कृष्ट संघीय अस्पताल बन्न सफल हुनेमा अपेक्षा राखिएकोछ ।

मूल्याङ्कनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत मुख्य तीन क्षेत्र सुशासन व्यवस्थापन, स्वास्थ्य सेवा र अस्पताल इन्फ्रास्ट्रक्चरका १५ सय इन्डिकेटरमा मूल्याङ्कन गर्दा यसवर्ष भेरीले ८० प्रतिशत अङ्क प्राप्त गरेको हो । 

Bheri_hospital_mss-2024-1713874743.jpg
आर्थिक वर्ष २०७८/०७९ मा भेरी अस्पतालले ६७ अङ्क प्राप्त गरेर उत्कृष्ट भएको सिलसिलालाई कायम राख्दै गतवर्ष ७५ प्रतिशत अंक प्राप्त गरि संघीय अस्पतालहरुमा लगातार तेस्रोपटक उत्कृष्ट भएको समितिका सदस्य एवम स्वास्थ्य सेवा विभागको शाखा प्रमुख समेत रहेका डाक्टर उत्तम पाच्यले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

देशमा कुल १२ वटा संघीय अस्पताल रहेकाछन् । जसमध्ये ४ वटा अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकन भइसकेकोछ । जसमा भेरी अस्पताल नेपालगन्जसहित राप्ती स्वास्थ्य विज्ञान दाङ, डडेल्धुरा अस्पताल र गजेन्द्र नारायण सिहं अस्पतालको हालसम्म न्यूनतम सेवा मापदण्ड मूल्यांकन गरिएकोछ । बाँकी रहेका ८ वटा संघीय अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकन हुन बाँकी छ । सबै संघीय अस्पतालको मूल्यांकन सकिएपछि अन्तिम नतिजा आउनेछ । 

न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा भेरी अस्पताल लगातार तेस्रोपटक देशकै उत्कृष्ट अस्पताल बन्न सफल भएकोमा खुशी ब्यक्त गर्दै भेरी अस्पतालका मेसु डाक्टर पवनजङ्ग रायमाझीले अस्पतालप्रति बढ्दो विश्वास र चिकित्सक, कर्मचारी, अस्पताल विकास समितिको अथक प्रयासबाट यो उपलब्धी प्राप्त गर्न सफल भएको बताए । उनले न्यूनतम सेवा मापदण्ड मूल्यांकनको अन्तिम नतिजामा देशमै भेरी पुनः उत्कृष्ट हुने अपेक्षा राखे ।

उनले हालसम्म २०४३ सालकै दरबन्दी भएका कारण जनशक्ति अभाव खड्किएको बताए । हालसम्म ३०० शैयाको नयाँ भवन पूर्णरुपमा सम्पन्न भई हस्तान्तरण नहुँदा कार्य सम्पादनमा कठिनाई भोग्नु परेको मेसु डाक्टर रायमाझीले प्रतिक्रिया दिए । 

न्यूनतम सेवा मापदण्ड मूल्यांकन पश्चात भेरी अस्पतालमा गरिएको छलफलमा समितिका सदस्य एवम स्वास्थ्य सेवा विभागका शाखा प्रमुख समेत रहेका डाक्टर उत्तम पाच्यले मूल्यांकनका सूचकका अवस्थाका बारेमा प्रस्तुती राखेका थिए । 

भेरी अस्पताल विकास समितिका सदस्य डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको उक्त छलफलमा मेसु डाक्टर पवनजङ्ग रायमाझी, डाक्टर राजन पाण्डे, वरीष्ठ नर्सिङ्ग अधिकृत दुर्गालक्ष्मी श्रेष्ठ लगायतले आफ्ना धारणा राखेका थिए ।