वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन, पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै


वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन, पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै

काठमाडौं–वरिष्ठ कलाकार सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार बिहान ८ बजेतिर डल्लुस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय सुभद्राले थुप्रै चलचित्र र नाटकमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्र ‘बासुदेव’, ‘चिनो’, ‘स्वर्ग’, ‘बादल पारि’, ‘बेहुली’ लगायत कैयन हिट चलचित्र हुन् ।

दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि निकै चर्चित छिन् ।
नेपाली रंगमञ्चका क्षेत्रमा समेत उत्तिकै सक्रिय रहेकी सुभद्राले बाल्यकालदेखि नै नाटक र नृत्यमा सधै अग्रसर रहिन् । उनले बासु शशि, विजय बहादुर मल्ल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा लगायतका नाटकमा समेत अभिनय गरेकीछन् ।

६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा शुरु गरेकी सुभद्राकोे पहिलो चलचित्र ‘मनको बाँध’ थियो । अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन् । उनको जन्म २००४ सालमा भएको थियो । उनका १ छोरा र छोरी छन् ।

Kids Festival 2022
kanti aarogya hospital

पछिल्लो समय सुभद्रा समाजसेवामा बढी सक्रिय थिइन् । उनको निधनले नेपाली चलचित्र क्षेत्रमा क्षति पुगेको भन्दै कलाकारले दुःख प्रकट गरेका छन् ।
उनको श्रद्धाञ्जली तथा अन्त्येष्टी आज १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ ।