ठेकेदारको बदमासीका कारण नरैनापुर गाउँपालिकाको कार्यालय भवन निर्माण अलपत्र


सेतोखरी सेतोखरी   सोमबार, वैशाख १७, २०८१
ठेकेदारको बदमासीका कारण नरैनापुर गाउँपालिकाको कार्यालय भवन निर्माण अलपत्र

नेपालगन्ज १७ वैशाख : तीन पटकसम्म म्याद थप गरिएपनि निर्माण कम्पनीको लापरबाहीले काम पुरा नगर्दा नरैनापुर गाउँपालिकाको निर्माण कार्य अलपत्र अवस्थामा छ । 

पालिकाले तीन पटक म्याद थप गरेर काम सम्पन्न गर्न निर्देशन दिएपनि ठेकेदारको लापरबाहीका कारण काम सम्पन्न नगरि भवन अलपत्रनै पारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक चौधरीले बताए ।

ठेकेदार कम्पनीले तीन पटक थपिएको म्यादमा पनि काम सम्पन्न गर्न नसकेपछि चौँथो पटक म्याद थप्नका लागि फेरी निवेदन दिएकोले पालिकाले ग्यारेन्टी पत्र र इन्सोरेन्स लगायत कागजात माग गरेको बताउँदै उनले उक्त पत्रहरू उपलब्ध गराएको खण्डमा बढीमा तीन महिनाको म्याद थप गर्न सकिने र उक्त अवधिमा समेत काम पुरा नगरेको खण्डका नियमानुसार ठेक्का रद्द गरिने बताए ।

महालक्ष्मी–जुगल विल्ड जेभि काठमाडौँले सोे भवनको निर्माण ०७९ साल असोज ३१ गते सम्पन्न गर्ने गरी ०७७ साल चैत ५ गते ठेक्का सम्झौता गरेको थियोे । सम्झौता गरेको समय सकिसक्दा समेत निर्माण कार्य पुरा नभएको इन्जिनियर प्रविण श्रेष्ठले बताए । इन्जिनियर श्रेष्ठका अनुसार ६ करोड ८० लाख ३१ हजार रुपैयाँको लागतमा निर्माण सुरु गरिएको सो प्रशासनिक भवनकालागि संघीय सरकारले ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत अनुदानमा निर्माण सुरु भएकोमा हालसम्म ७० प्रतिशत मात्र काम पुरा भएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

गाउँपालिकाको लेखा शाखाका अनुसार सो भवन निर्माणका लागि ठेकेदार कम्पनीले हालसम्म ४ करोड २८ लाख रुपैयाँ भुक्तानी लिएको छ भने एक करोड २० लाख पेश्की लिएको छ । 

नयाँ भवन निर्माण सम्पन्न गर्ने समयावधि सकिएपनि निर्माण व्यवसायीले काममा ढिलाइ गरिदिएका कारण वडा कार्यालयबाट पालिकाले सेवा प्रवाह गर्न बाध्य रहेको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह बताउँछन् ।

उनका अनुसार भवन निर्माणमा ढिलाई हुँदा साबिकको नरैनापुर गाविस कार्यालयबाट नरैनापुर गाउँपालिकाले सेवा प्रवाह गर्दै आएको छ । आफ्नै भवन तयार नहुँदा गाउँपालिकाको काम साँघुरो भवनबाट गर्नु परेको अध्यक्ष शाहको गुनासो छ । 

बाँकेका आठ स्थानीय तहमध्ये बैजनाथ र डुडुवा गाउँपालिकाले नयाँ आधुनिक भवन निर्माण सम्पन्न गरी सेवा प्रवाह सुरु गरिसकेका छन् भने नरैनापुर, खजुरा, जानकी र कोहलपुरको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् ।