काँग्रेस कार्यकर्ताको चिन्ता : ‘जनतालाई विकाससँग जोड्न नसके ८४ को चुनाव प्रतिकुल हुने’ 


सेतोखरी सेतोखरी   शनिबार, वैशाख २२, २०८१
काँग्रेस कार्यकर्ताको चिन्ता : ‘जनतालाई विकाससँग जोड्न नसके ८४ को चुनाव प्रतिकुल हुने’ 

नेपालगन्ज २२ वैशाखः नेपाली काँग्रेसका तल्लो तहका नेता तथा कार्यकर्ताले पार्टीले नेतृत्व गरेका स्थानीय तहमा जनतालाई विकाससँग जोड्न नसके आगामी २०८४ सालको निर्वाचनमा सुखद नतिजा नआउने खतरा औल्याएका छन् । पार्टीबाट जितेका जनप्रतिनिधिको ब्यवहार, कार्यशैली र चरित्र नै ‘प्रतिकुलको कारक’ बन्न सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ कार्यसमितिको दोस्रो वडा सम्मेलनमा शनिबार बोल्ने कार्यकर्ताले यस्तो चिन्ता ब्यक्त गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का उपसभापति ज्योती कुमार श्रेष्ठले भने, ‘टाढाको कुरा नगरौं, नेपालगन्जमा अहिले हाम्रै पार्टीको नेतृत्वमा स्थानीय सरकार छ, तर खै अहिलेसम्म जनताले विकासको अनुभुती नै गर्न पाएका छैनन्, हाम्रो मेयरको भिजन नै देखिएन, कुनै योजनाको बारेमा कुरा गर्यो की त्यसलाई असम्भव देख्नुहुन्छ ।’

अहिले जनप्रतिनिधिले गरेका क्रियाकलाप, ब्यवहार र कार्यशैलीको असर ८४ को निर्वाचनमा पार्टीले भोग्ने निश्चित रहेको उनको गुनासो छ । उनले अगाडी थपे, ‘नेपाली काँग्रेसमा लागेपछि हामी पार्टीको झोला बोक्ने मात्रै भयौं, आफ्नै मेयर भएपनि वडाको विकासमा हामीले नेतृत्व गर्न सकेनौं ।’

congress_npj_18_1-1714825166.jpg
मेयर प्रशान्त विष्टले वडा नम्बर–१८ का लागि विकास, योजनाबारे कुरा गर्दा चासो नदिने गरेको कार्यकर्ताले गुनासो गरेका छन् । नेपालगन्ज–१८ कै कार्यकर्ता गणेश आचार्यले विकास नभएसम्म जनतालाई पार्टीप्रति आर्कषण गर्न नसकिने बताए । ‘नयाँ पार्टी आईरहेका छन्, जनताले विकास खोज्छन्, यदी जनतालाई हामीले विकाससँग जोडेनौं भने हाम्रो पार्टीलाई भोट हाल्नेवाला छैनन,’ उनले थपे ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यकर्ताका गुनासा सुनेपछि प्रमुख अतिथी समेत रहेका काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले पार्टीका नेता, कार्यकर्ता जो जहाँ छ, त्यहाँबाट योगदान गर्नुपर्ने बताए । ‘नेपालगन्ज–१८ मा हाम्रो पार्टीको वडा सरकार छैन, तर, पनि हामीले छायाँ सरकार चलाएर जनतालाई विकाससँग जोड्न जरुरी छ,’ उनले भने ‘यहाँको विकासमा हामीले नेतृत्व लिन सकेनौं भने फेरी पनि चुनाव हार्ने स्थिती आउन सक्छ ।’ पार्टी र जनप्रतिनिधि बीच समन्वय हुन आवश्यक रहेकोमा जोड दिए ।

उक्त वडाका क्रियाशिल सदस्य एवम् क्षेत्रीय प्रतिनिधि समेत रहेका उपसभापति अधिकारीले भने, ‘प्रतिकुलताका वावजुद पनि संघर्ष गर्नु भएको छ, पार्टी बचाउने तपाई हामी नै हो, समस्या पहिचान गरौं, समाधानको उपाय खोजौं ।’ नेपाली काँग्रेस नेपालगन्ज–१८ का वडा सभापति जगदिशप्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न सम्मेलनमा उपसभापति राजाराम सुवेदीले स्वागत गरेका थिए ।

सो क्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, प्रदेश सांसद मिना बोहरा सिद्धिकी, सुशिला नेपाली(वादी), नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव सुनिलसिंह हमाल, नेपालगन्ज उपमहानगर समितिका कार्यबाहक सभापति धनराज बर्मा लगायतले बोलेका थिए । उक्त कार्यक्रम सञ्चालन वडा नम्बर १८ का सचिव हिरेन्द्र खड्काले गरेका थिए । सम्मेलनमा प्रस्तुत गरिएको वडाको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित भएको छ ।