गृहमन्त्रीमाथि छानबिन नगरे संसद् चल्न दिँदैनौँ : शेखर कोइराला


सेतोखरी सेतोखरी   शनिबार, वैशाख २२, २०८१
गृहमन्त्रीमाथि छानबिन नगरे संसद् चल्न दिँदैनौँ : शेखर कोइराला

नेपालगन्ज २२ वैशाख: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुरानै अडान दोहो¥याएका छन् । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–१ र प्रदेश सभा ‘क’ र ‘ख’ को कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै उनले सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाइएसम्म काँग्रेसले संसद् बैठक चल्न नदिने बताएका हुन् । उनले लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाइनुपर्नेमा जोड दिदैँ आफूहरूले गृहमन्त्रीको राजीनामा नमागेको उनले स्पष्ट पारे ।

‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ । संसदीय छानबिन बनाऔँ, सहकारी ठगीमा उहाँ (रवि लामिछाने)को संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ,’ उनले भने, ‘तर, संसदीय समिति बनाउन सरकार किन डराएको ?’ यही वैशाख २८ गतेका निम्ति संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरिएको छ । गएको अधिवेशनका पछिल्ला बैठक सोही मागसहित काँग्रेस सांसदले अवरुद्ध गरेका थिए ।

अर्को प्रसंगमा नेता कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र नमिठा विगत बिर्सेर संगठनमा एकजुट हुन नेता–कार्यकर्तालाई निर्देशन दिए । पार्टी एक भए कुनै पनि निर्वाचनमा काँग्रेसले गठबन्धनका नाममा कसैको वैशाखीको सहारा लिनु नपर्ने उनले बताए । सरकार फेरवदलका कारण देश अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको उनले बताए ।

लोकतान्त्रिक पार्टी भएकाले महाधिवेशनका समयमा आन्तरिक प्रतिस्पर्धा र गुटबन्दी देखिनु सामान्य भएको उनको भनाइ छ । ‘तर, त्यो तिक्तता र गुटबन्दीलाई लिएर सधैँ हिँडिराख्नु राम्रो होइन ।’

Kids Festival 2022
kanti aarogya hospital

यस्तै काँग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले मुलुकको वृहत्तर हितका लागि काँग्रेस बाहेक अरु पार्टीको कल्पना गर्न नसकिने बताए । मुलुकका हरेक परिवर्तनमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको राठोरले स्मरण गरे । उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएको समेत बताए । उनले पार्टीमा त्यागको संस्कार सिक्न पनि कार्यकर्ताहरुलाई सुझाव दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले काँग्रेसलाई बलियो बनाउन संगठनका गतिविधिहरुलाई चलायमान बनाउनुपर्ने बताए । उनले भातृ संस्थाहरुको परिचालन हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् । पार्टीमा अनुशासन आवश्यक रहेकोमा पनि उनले जोड दिए ।

काँग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा खराव व्यक्तिहरुलाई पुरष्कृत गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै त्यसलाई नीतिगत रुपमै निरुत्साहित गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले मुलुकको विकासका लागि काँग्रेसको नेतृत्व बाहेक अरु पार्टी असफल भएको बताए ।

काँग्रेस क्षेत्रीय सभापति पोषण केसीको अध्यक्षतामा भएको दोस्रो सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्यहरु सञ्जय गौतम, गोपाल दहित, मधु आचार्य लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । आर्थिक र सांगठनिक प्रतिवेदन समेत पास गरिएको उक्त सम्मेलनमा विभिन्न व्यक्तिहरुलाई सम्मानित समेत गरिएको छ । शनिबार विहान बुद्ध एयरको जहाजबाट नेपालगन्ज आएका काँग्रेस नेता कोइरालालाई नेपालगन्ज एयरपोर्टमा पार्टीका नेता तथा कार्यकर्ताले भब्य स्वागत गरेका थिए । कोहलपुरको कार्यक्रमलाई सम्बोधन गरेलगत्तै उनी शनिबार नै काठमाण्डौं फर्किएका थिए ।