राजीनामा दिएको १५ दिनपछि बाँकेका भण्डारीलालले लिए मन्त्रीको पदभार


सेतोखरी सेतोखरी   सोमबार, वैशाख २४, २०८१
राजीनामा दिएको १५ दिनपछि बाँकेका भण्डारीलालले लिए मन्त्रीको पदभार

नेपालगन्ज २४ वैशाख: लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि उनले सोमबार मन्त्रालयमा गएर काम थालेका हुन् ।

२५ चैतमा मन्त्री नियुक्त भएका अहिरलाई मुख्यमन्त्रीले ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए । सरकार गठनका क्रममा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भएको थियो । तर एउटा मन्त्रालय मात्र दिएको भन्दै जसपाले सरकार छाड्ने निर्णय गरेपछि ९ वैशाखमा राजीनामा दिएका थिए ।

यो पनि पढ्नुहोस् जसपाभित्र फुटले बाँकेका कार्यकर्ता अलमलमा

मुख्यमन्त्रीले असन्तुष्टि सम्बोधन गर्दै जाने वचन दिएपछि पदभार सम्हाल्न तयार भएको उनले बताए । ‘मुख्यमन्त्रीसँग शनिबार कुराकानी भएको थियो’, अहिरले भने, ‘उहाँले अहिले पदभार ग्रहण गर्नुस्, असन्तुष्टि सम्बोधन गर्दै जाउँला भनेपछि सहमत भएको हुँ ।’

Kids Festival 2022
kanti aarogya hospital

जसपा आइतबार साँझ फुटेको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । मन्त्री अहिरले भने कुन पक्षमा बस्ने भनेर अहिले कुनै निर्णयमा नपुगेको बताए । उनले भने, ‘साथीहरुसँग छलफल गर्छौं, त्यसपछि कता बस्ने निर्णयमा पुग्न सकिएला ।’

नयाँ दल दर्ताको निवेदन अवैधानिक : जसपा

यसैबीच, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक भनेको छ । आईतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो ।

आज, सोमबार जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् ।

‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रिय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ ।’

आईतबार जसपा विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको थियो ।