एमाले बाँकेमा अधिवेशनको सरगर्मी : अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा


सेतोखरी सेतोखरी   बुधबार, जेठ २, २०८१
एमाले बाँकेमा अधिवेशनको सरगर्मी : अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा

नेपालगन्ज २ जेठ : नेकपा (एमाले) बाँकेमा अधिवेशनको सरगर्मी बढेर आएकोछ । आगामी जेठ ४ र ५ गते हुने अधिवेशनको पूर्वसन्ध्यामा यतिबेला एमाले बाँकेमा सरगर्मी बढेको हो । एमाले बाँकेको नयाँ जिल्ला नेतृत्व समेत चयन हुने भएपछि यतिबेला एमाले बाँकेमा चुनावी सरगर्मी बढेर आएकोछ ।

एमाले बाँकेको नवौँ जिल्ला अधिवेशन तथा नयाँ निर्वाचनका लागि ४५९ जना प्रतिनिधि छनोट गरिएका छन् । यही जेठ ४ र ५ गते हुने अधिवेशनको सबै तयारी पूरा भएको समेत एमाले बाँकेले जनाएको छ । जिल्लाको अध्यक्षसहित १२० जनाको नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा सहभागी हुने ४५९ जना प्रतिनिधिको छनोट सम्पन्न गरिएको हो ।

तीन निर्वाचन क्षेत्र रहको बाँके जिल्लाका ८१ वटै वडा, भातृ सङ्गठनलगायतका प्रतिनिधि छनोटका इकाईहरूबाट जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट गरिएको एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।

उनले प्रतिनिधि छनोटसँगै अधिवेशनको सबै तयारी पूरा भएको जनाकारी दिदै अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको बताए । अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति, पूर्वअध्यक्ष निरक गुरुङ, वर्तमान उपाध्यक्ष डिल्ली बिसी र नेता घननाथ खनालबिच प्रतिस्पर्धा हुने भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कक्षपति वर्तमान अध्यक्ष हुन भने गुरुङ नेकपा कालमा अध्यक्ष भएका थिए । बिसी उपाध्यक्ष छन् भने खनाल प्रदेश कमिटीमा रहेकाछन् । अध्यक्षका लागि प्रतिस्पर्धामा देखिएका चारैजना लोकप्रिय नेता मानिन्छन् । अन्तिमसम्म चारैजनाको उम्मेदवारी रह्यो भने निर्वाचन रोचक हुने कार्यकर्ताहरू बताउँछन् ।

वर्तमान अध्यक्ष कक्षपतिले आफूले पूरा कार्यकाल बिताउन नपाएको र यो समयमा जिल्लामा पार्टीलाई बलियो बनाएकाले आगामी कार्यकालमा दोहोरिने तयारी गरेको बताए ।

अध्यक्षका अर्का आकाङ्क्षी डिल्ली बिसीले आफू उपाध्यक्ष बनिसकेकाले अध्यक्षमा जाने स्वाभाविक बाटो भएकाले अध्यक्षमा प्रतिस्पर्धा गरिरहेको धारणा राखे । सोही प्रकारले पूर्व अध्यक्ष गुरुङ र नेता खनालले पार्टीलाई झन् बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।

उपाध्यक्षमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्री र रवीन्द्र लम्साल, सचिवमा बलराम भट्टराई, भीम ओली, दत्तप्रसाद आचार्य, खिमा भुसाललगायतका नेताहरूले प्रतिस्पर्धा गर्ने देखिएको छ भने उपसचिवमा सबैभन्दा बढी करिब १२ जनाले उम्मेदवारी दिने तयारीमा रहेका छन् ।