नेपालगन्ज ४ जेठः अपाङ्गता भएका ब्यक्तिहरुको सेवामा पहुँच बढाउन गम्भीररुपमा अघि बढ्नुपर्ने सम्बद्ध सरोकारवालाले बताएकाछन् । अपाङ्गता भएका ब्यक्तिहरुको सेवामा समान पहुँच नहुँदा यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट उनीहरु विमुख हुनुपरेको पाइएकोछ ।
यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अपाङ्गता भएका ब्यक्तिलाई सो सम्बन्धमा जानकारी गराई सेवा प्रवाह गरेमा अपाङ्गता भएका ब्यक्तिको अधिकार सुनिश्चित हुनेमा जिल्लाका सम्बद्ध सरोकारहरु बताउँछन् ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ अनुसार दश प्रकारका अपाङ्गतालाई राज्यले समेटेकोछ । दश प्रकारका अपाङ्गता अनुसार बाँकेमा १३ हजार ५ सय २२ जना विभिन्न अपाङ्गता भएका ब्यक्ति रहेको एक तथ्यांकले समेत देखाएकोछ ।
उक्त तथ्यांक अनुसार बाँकेमा ७ हजार ४ सय ४७ जना पुरुष अपाङ्गता र ६ हजार ७५ जना महिला अपाङ्गता भएका ब्यक्ति रहेकाछन् । यसरी जिल्लामा ठूलो संख्यामा अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गता भएकै कारण दया र करुणाका दृष्टिले नभई संविधानले प्रदान गरेको अधिकार उपभोग गराउन सबै तह लाग्नुपर्ने नेपाल परिवार नियोजन संघ बाँके शाखाले आयोजना गरेको अन्तरक्रियामा जोड दिइएको हो ।
संघ बाँकेका सभापति बद्रुदुजा खाँको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रियामा संघ बाँके शाखाका प्रबन्धक रश्मी श्रेष्ठले सन् २०२३ जनवरीदेखी सञ्चालनमा आएको परियोजनाले गरेका कामका बारेमा जानकारी गराएकी थिइन् । आगामी सन् २०२५ सम्म सञ्चालन हुने अपाङ्गता भएका ब्यक्तिका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी परियोजनाले विभिन्न कार्यक्रम गरेको बताइन् ।
अपाङ्गता भएका ब्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यका बारेमा कार्यक्रम चलाउने परिवार नियोजन संघ पहिलो संस्था भएको उनको भनाई छ । परियोजना सञ्चालन भएपछि यौन तथा प्रजनन स्वास्थ्यका बारेमा अपाङ्गता भएका ब्यक्तिले धेरै जानकारी पाएको शाखा प्रबन्धक श्रेष्ठले बताइन् । सो क्रममा डेक नेपालका जीवन गिरीले अपाङ्गता र यसका कानूनी पक्षका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा संघ बाँकेका सभापति खाँ, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, राष्ट्रिय अपाङ्ग अलविनो नेपालका अध्यक्ष टेकराज जैसीले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।