‘बर्फानी बाबा’मा हट्ने भयो खानेपानीको समस्या, साढे सात किलोमिटर टाढाबाट खानेपानी पुर्‍याइदैँ


सेतोखरी सेतोखरी   शुक्रबार, जेठ ४, २०८१
‘बर्फानी बाबा’मा हट्ने भयो खानेपानीको समस्या, साढे सात किलोमिटर टाढाबाट खानेपानी पुर्‍याइदैँ

नेपालगन्ज ४ जेठ : ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानीको काम अन्तिम चरणमा पुगेको छ । खानेपानीको काम अन्तिम चरणमा पुगेसंगै बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीय स्थल ‘बर्फानी बाबा’ मन्दिरमा पानीको समस्या हट्ने भएको हो ।

यही महिना भित्रमा ‘बर्फानी बाबा’मा पानी पु¥याउने र भवन निर्माणको काम पनि सम्पन्न भइसक्ने तयारी गरिएकोछ । धार्मिक पर्यटकीय स्थल ‘बर्फानी बाबा’मा नेपाल र भारतका हिन्दु धर्मावलम्बी भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

barfani_baba_khanepani_2081_3-1715936843.jpg
नेपालका विभिन्न स्थानका साथै भारतसम्मबाट ‘बर्फानी बाबा’ मन्दिर दर्शन गर्न आउने भक्तजनहरूका लागि बस्नका लागि आवास र पिउने पानीको समेत व्यवस्था हुन नसक्दा भक्तजनहरू समस्यामा पर्ने गरेका थिए । अब भवन निर्माणका साथै खानेपानीको काम पनि सम्पन्न भएपछि भने उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा बृद्धि भई स्थानीयको आर्थिक उपार्जनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । 

लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री कृष्णा केसी ‘नमुना’को पहलमा बर्फानी बाबा मन्दिर परिसरमा खानेपानीको कार्यले अन्तिम रुप लिदैछ । लामो समयदेखिको जनताको माग रहेको सो मन्दिरमा खानेपानी पु¥याउने कार्य अन्तिम चरणमा पुगेको नमुनाले बताइन् ।

barfani_baba_khanepani_2081_2-1715936895.jpg
कुम्भरमा डिप बोरिङ गाडेर बोरिङमार्फत् करिब साढे सात किलोमिटर टाढा ‘बर्फानी बाबा’ मन्दिरमा पानी पु¥याउने कार्य द्रुत गतिमा भइरहेको उनले बताइन् ।

कुम्भरमा डिप बोरिङ गाड्ने काम सम्पन्न भएको उनले जानकारी दिदै कुम्भरबाट ‘बर्फानी बाबा’ मन्दीरसम्मको करिब साढे सात किलोमिटर लामो दुरीमा पाइप बिछ्याउने काम भइरहेको र करिब आधाभन्दा बढी दुरीमा कार्य सम्पन्न भएको नमुनाले बताइन् ।

बाँकेकै अति नै लोकप्रिय तथा दुर्गम स्थानमा रहेको ‘बर्फानी बाबा’ मन्दिर रहेको डाँडामा पानी सङ्कलन गर्नका लागि ३५ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।  त्यसैगरी मन्दिर क्षेत्रमा भक्तजनहरूको आवासका लागि भवन निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको उनले बताइन् ।

barfani_baba_khanepani_2081_1-1715936923.jpg
 

खानेपानीका लागि प्रदेश सरकारको ७० लाख रुपैयाँको बजेट र भवन निर्माणका लागि ८० लाख रुपैयाँको बजेट आफूले विनियोजित गरेको उनले जानकारी दिदैँ निर्माणाधीन भवनको पहिलो तलाको ढलानको काम सकिएको र अब माथिल्लो तलाको काम सुरु हुने जानकारी दिइन् ।