कर्णाली र लुम्बिनीका सामुदायिक पुस्तकालयहरुको पहिलो प्रदेश सम्मेलन गाभरमा सूरु


सेतोखरी सेतोखरी   आइतबार, जेठ १३, २०८१
कर्णाली र लुम्बिनीका सामुदायिक पुस्तकालयहरुको पहिलो प्रदेश सम्मेलन गाभरमा सूरु

नेपालगन्ज १३ जेठ : लुम्बिनी र कर्णाली प्रदेशका सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरुको पहिलो प्रदेश सम्मेलन बाँकेको गाभरमा सुरु भएको छ । प्रदेशभित्र रहेका सामुदायिक पुस्तकालयहरु संगठित र एकताबद्धरुपमा अगाडी बढाउने उद्देश्यले नेपाल सामुदायिक पुस्तकालय संघ लुम्बिनी प्रदेशको आयोजनामा दुई दिने प्रदेश सम्मेलन सूरु भएको हो । 

सम्मेलनबाट लुम्बिनी र कर्णाली प्रदेशमा सञ्चालित पुस्तकालयहरुबाट प्रदेशस्तरीय संघ विस्तार गर्ने र लुम्बिनी प्रदेश घोषणा पत्र जारी गर्ने कार्यक्रम रहेको छ ।  कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले सम्मेलनको उद्घाटन गरेका थिए । सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले पालिका र वडावडासम्म पुस्तकालय विस्तार गर्न जारी रहेको बताए ।

उनले शिक्षा र अध्ययन व्यक्ति, समाज र राष्ट्र परिवर्तनका लागि अपरिहार्य रहेको भन्दै तीनै तहका सरकारले पुस्तकालयहरुमा लगानी र सहयोग गर्नुपर्ने धारणा राखे ।

सम्मेलनमा जिल्ला समन्वय समिति उपाध्यक्ष सिता कार्की, नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रिय महासचिव राजेन्द्र पाण्डे, शिक्षा विकास तथा समन्वय ईकाइ बाँकेका प्रमुख रामसुरेश यादव, जिल्ला हुलाक बाँके प्रमुख गोविन्द पाण्डे, सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख उद्धव श्रेष्ठले सामुदायिक पुस्तकालको महत्व, आवश्यकताका विषयमा धारणा राखेका थिए । 

Kanti Aarogya Hospital Nepalgunj

अतिथिहरुले कार्यक्रममा सामुदायिक पुस्तकालयलाई डिजिटल प्रविधि अनुसार अगाडी बढाउन सुझाव दिएका थिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पुस्तकालय शाखा उपसचिव यादवचन्द्र निरौलाले देशभर सञ्चालनमा हजारौं सामुदायिक पुस्तकालय रहेपनि आधिकारी र सरकारी मातहतमा डेढ सयको संख्यामा मात्र सञ्चालनमा आएको देखिएकोले बाँकी पुस्तकालयलाई पनि सक्रिय बनाउन आवश्यक रहेको बताए ।

मन्त्रालयले सामुदायिक पुस्तकालयको क्षमता विकास, तालिम, पुस्तकालय सहयोग र प्राविधि हस्तान्तरण जस्ता काम गर्दै आएको भने । कर्णाली र लुम्बिनी प्रदेशमा संघको विस्तार नभएकोले सम्मेलनबाट प्रदेशस्तरीय समिति विस्तार हुने सहभागीले आशा व्यक्त गरे । 

सम्मेलनमा दुई प्रदेशका दुई दर्जन बढी सामुदायिक पुस्तकालयका प्रतिनिधीहरुको सहभागीता रहेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, बाँके राष्ट्रिय निकुञ्ज, ज्ञानोदय सामुदायिक पुस्तकालय लगायतका निकायसंगको समन्वय र सहकार्यमा दुई दिने प्रदेश सम्मेलन सुरु भएको हो ।