नेपालगन्ज मेडिकल कलेजले चिकित्सक अध्ययन बन्द गर्‍यो


सेतोखरी सेतोखरी   मंगलबार, जेठ २२, २०८१
नेपालगन्ज मेडिकल कलेजले चिकित्सक अध्ययन बन्द गर्‍यो

नेपालगन्ज २२ जेठ : बाँकेस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमार्फत सञ्चालन हुँदै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा चिकित्सक अध्ययन नहुने भएकोछ ।

स्थापनाकालदेखि हालसम्म चिकित्सक अध्ययन र अस्पतालका रूपमा सञ्चालन हुँदै आएको उक्त मेडिकल कलेजमा अब भने चिकित्सक अध्ययन नहुने भएको हो । सोमबार साँझ कोहलपुरमा पत्रकार भेटघाट कार्यक्रममार्फत अस्पताल प्रशासनले उक्त कुराको जानकारी गराएको हो । कलेजले अस्पताल मात्र सञ्चालन गर्ने जनाएको हो । 

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका कम्पनी सचिव श्यामकुमार शर्माले हालसम्म चिकित्सक अध्ययन र अस्पतालका रूपमा सेवा प्रदान गर्दै आइरहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट अब अस्पतालको मात्र सेवा प्रदान गरिने जानकारी दिए ।

‘नेपालगन्ज अस्पतालबाट बिरामीहरूलाई प्रदान गरिने सेवा सुविधा विस्तार गर्दै अस्पताललाई स्तरोन्नति गरी स्वास्थ्य सेवा मात्र प्रदान गर्ने निर्णय गरेका छौँ ।’ कम्पनी सचिव शर्माले भने । 

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

कोलपुरमा रहेको शिक्षण अस्पतालमा मात्र चिकित्सक अध्ययन गराइने अस्पताल प्रशासनले जनाएको छ । ‘नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरबाट चिकित्सा शिक्षा अध्ययन र अस्पताल सञ्चालन गर्दै आएकोमा अबदेखि शिक्षण अस्पताल कोहलपुरमा मात्र चिकित्सक अध्ययन गराइनुका साथै अस्पताल पनि सञ्चालन गरिनेछ’ कम्पनी सचिव शर्माले भने।

कोहलपुर शिक्षण अस्पताललाई पूर्ण रुपमा नेपालगन्ज मेडिकल कलेजको रूपमा सञ्चालन गर्दै स्वास्थ्य उपचारको नयाँ–नयाँ उपकरणहरू थप गरी विशेषज्ञ सेवा प्रदान गरिनुका साथै विशिष्टीकृत सेवा सुरुआत गरेर स्वास्थ्य सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।

मेडिकल कलेजबाट हाल सञ्चालन गर्दै आएको एमबिबिएस, एमडी÷एमएस, बिएससी नर्सिङका साथै आउने आर्थिक वर्षदेखि बिडिएस, बिएमआइटी, बिएमएलटी तथा पिसिएल नर्सिङ कोर्ससमेत सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ ।

शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा. रेसमबहादुर रानाले पछिल्ला वर्षहरूमा उपचारका लागि जिल्ला स्तरमै स्वास्थ्य संस्थाहरू सञ्चालनमा आएपछि गुणस्तरीय सेवाका लागि मात्रै बिरामीहरू शिक्षण अस्पताल कोहलपुरमा आउने गरेको बताए । उनले पछिल्ला वर्षहरूमा अस्पतालको गुणस्तरमा सुधारसँगै बिरामी सङ्ख्या पनि बढेको जानकारी दिए ।

२०५४ सालमा स्थापना भएको लर्ड बुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरसँगै नर्सिङ क्याम्पस, मेडिकल कलेजलगायतका प्रतिष्ठानहरूमा एक सय ६५ चिकित्सक, ३९ मेडिकल अफिसर, ६ सय ४० नर्स, एक सय बढी पारा मेडिकलसहित एक हजार चार सय कर्मचारी कार्यरत छन् ।

कोहलपुर अस्पतालमा ५ सय २५ र नेपालगन्ज अस्पतालमा ३ सय १५ शय्याको सेवा प्रदान गर्दै आएको मेडिकल कलेजले कोहलपुरबाट र नेपालगन्जबाट दैनिक चार÷चार सय बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।