१४ बुदेँ नेपालगन्ज घोषणपत्र जारी गर्दै महासंघ बाँकेको साधारण सभा सम्पन्न


सेतोखरी सेतोखरी   शनिबार, जेठ २६, २०८१
१४ बुदेँ नेपालगन्ज घोषणपत्र जारी गर्दै महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगन्ज २६ जेठ : पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखाले आफ्नो १४ औं साधरण सभामा १४ बुदेँ नेपालगन्ज घोषणा पत्र जारी गरेकोछ । १४ बुदेँ नेपालगन्ज घोषणापत्र जारी गर्दै महासंघ बाँके शाखाको साधारण सभा शनिबार नेपालगन्जमा सम्पन्न भएको हो । 

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न साधरण सभाबाट पारित १४ बुदेँ घोषणा पत्रमा पत्रकारका विभिन्न गम्भीर विषयहरु उठान गरिएको छ । महासंघ बाँकेले पारित गरेको १४ बुदेँ घोषणापत्रमा समेटिएका विषयलाई सम्बोधन गर्न गराउन गम्भीर भएर महासंघ लाग्ने जनाइएकोछ । 

साधरण सभाबाट पारित भएको १४ बुदेँ घोषणा पत्रको पहिलो बुँदामा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा र प्रर्बद्धनका लागि सम्पूर्ण आमसञ्चार माध्यम र पत्रकारहरुलाई अझ बढी जिम्मेवार, कर्तब्यनिष्ट, जवाफदेही र संयमतापूर्वक काम गर्न आग्रह गर्दछ उल्लेखछ ।

यस्तै घोषणा पत्रमा पत्रकार आचार संहिता, पत्रकारिताका स्थापित मूल्य, मान्यता र सिद्धान्त अनुरुप सत्य, तथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रकाशन प्रशारण गर्न आमसञ्चार माध्यम र पत्रकारहरुलाई आग्रह गर्ने जनाइएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै साना लगानीमा सञ्चलन गरिएका महिला भाषाभाषीका मिडियाको संरक्षण सम्बद्र्धन गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन गर्न जोडदार माग गर्दछ । मिडिया मैत्री नीति तथा कानून बनाउन माग गर्दै नेपाल पत्रकार महासंघसंग समन्वय गर्न माग गर्ने बताइएकोछ ।

घोषणापत्रमा ‘स्थानीय, प्रदेश र संघीय सरकारलाई समानुपातिक रुपमा विज्ञापन वितरण गर्न जोडदार माग गर्दछ । स्थानीय विज्ञापन स्थानीय मिडियालाई प्राथमिकता साथ दिने व्यवस्था माग गर्ने’ उल्लेखछ । भने ‘अनलाईन आमसञ्चार माध्यमको दर्ता र नविकरण, पत्रकार परिचयपत्रको वितरण र नविकरण जिल्ला तहबाटै उपलब्ध गराउन सरकारसँग माग गर्ने’ जनाइएकोछ ।

महासंघको छैठौं बुदाँमा ‘समाचारमूलक आमसञ्चार माध्यम र सोसल मिडियाबारे सर्वसाधरणमा एकै बुझाई भएकाले फेसबुक, यूटुब लगायतका सामाजिक सञ्जाललाई व्यवस्थित गर्न नीति, विधि, कार्यविधि, निर्देशिका र ऐन, कानून निर्माण माग गर्ने’ तथा सातौं बुदाँमा ‘श्रमजीवि पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दछ’ उल्लेखछ । 

यस्तै आठौं र नवौं बुदाँमा ‘आर्थिक मन्दीका कारण जिल्लामा सञ्चालित आमसञ्चार माध्यमको दीगोपनाका लागि स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बन्न ध्यानाकर्षण गराउने’ तथा ‘नेपाल पत्रकार महासंघको सदस्यता वितरण गर्दा मापदण्ड पुगेका क्रियाशिल पत्रकारलाई सरल र सहज विधिमा सदस्यता उपलब्ध गराउन र पत्रकारिता पेशामा क्रियाशिल नरहेका सदस्यहरुलाई स्वघोषणा वा स–सम्मान सदस्य नरहेको व्यवस्था मिलाउन सम्बद्ध सबैमा आग्रह गर्ने’ जनाइएकोछ ।

‘पत्रकारिता पेशा वा व्यवसायिक क्षेत्रका साझा समस्या तथा सवालहरुमा सरोकारवालाबीच छलफल, अन्तरक्रिया, गोष्ठि, सम्मेलन गरी समाधानका उपाय खोज्नुपर्ने’ घोषणा पत्रमा बताइएकोछ । 

‘पत्रकारलाई निर्बाध रुपमा समाचार तथा फोटो, भिडियो संकलन गर्ने व्यवस्था मिलाउन र पत्रकारका विरुद्ध हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सम्बद्ध सबैमा जोडदार माग गर्ने’ तथा घोषणापत्रमा अगाडी भनिएकोछ ‘महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिलाई पत्रकारिता पेशामा आबद्ध गराउन र पत्रकारिता पेशामा टिकाउने खालका कार्यक्रम सञ्चालन गर्न सम्बद्ध सबैमा हार्दिक आग्रह गर्दछ ।’

यस्तै घोषणापत्र मार्फत ‘बाँकेका पर्यटकीय गन्तब्यहरु बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, बर्फानी बाबा, सन्तानेश्वर मन्दिर, शैयद नुरखलिफा, गुरुद्वारा लगायतका क्षेत्रको विकास निर्माण र नयाँ पर्यटकीय गन्तब्यको पहिचान गर्न सम्बद्ध सबैमा आग्रह गर्दै नेपाल पत्रकार महासंघ बाँके शाखाको १४ औं साधारणसभामा प्रमुख अथिति नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट, बिशेष अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, अग्रज पत्रकार, पत्रकार सम्बद्ध विभिन्न संघसंगठनका प्रमुख सहित सम्पूर्ण अतिथीलाई धन्यवाद ज्ञापन गर्दै यो साधारणसभा पुरस्कृत एवं सम्मानित हुनुहुने सबैलाई बधाई सहित सहयोग गर्नुहुने सबै निकायलाई हार्दिक धन्यवाद  दिइएकोछ ।

महासंघको घोषणापत्र जारीका लागि शंकर प्रशाद खनालको संयोजकत्वमा  अर्जुन ओली, मधु पौडेल, विमला चौधरी र आल खान सदस्य रहेका थिए ।

ल्याकत अलि पत्रकारिता पुरस्कारबाट निरज गौतम र शिव डोटेल, क्रियाशिल पत्रकारिता पुरस्कारबाट विजय मल्ल र बैकुण्ठ अधिकारी, सुर्यनाथ गौतम स्वास्थ्य(मुटु) पत्रकारिताबाट शंकर खनाल र शोभा केसी, चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कारबाट विश्वराज पछलड्ङग्या, रबिन्द्र घिमिरे, माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारबाट लक्ष्मण ढुङ्गाना(बर्दिया) र अनिता विश्वकर्मा (बाँके), रामकली, रामआधार पत्रकारिता पुरस्कारबाट बिक्रम बुढाक्षेत्री र अभिशेक गुप्ता, बेलमती स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गजेन्द्र गुरुङ्ग, रुपनी जिएम, आँखा स्वास्थ्य पत्रकारिताबाट खम्बप्रसाद पुन, कृष्णराज अधिकारी र चन्द्र बोहरा तथा गुरु खत्री पत्रकारिता पुरस्कारबाट तिलक गाउँलेलाई नगदसहित पुरस्कृत गरिएको हो ।

महासंघले पूर्व अध्यक्ष एवम सल्लाहकारलाई सम्मान गर्ने कार्यलाई समेत निरन्तरता दिएकोछ । जसमा कानूनी सल्लाहकार एवम बरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, सल्लाहकार डक्ट धिताललाई सम्मान गरेकोछ । यस्तै महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलीसहित पूर्वअध्यक्षहरु हेमन्त कर्मचार्य, निरज गौतम, प्रेम केसी, झलक गैरे, शुक्रऋषी चौलागाई, रुद्र सुवेदी तथा ठाकुरसिंह थारुलाई सम्मान गरेकोछ ।

ल्याकत अलि पत्रकारिता पुरस्कार र क्रियाशिल पत्रकारिता पुरस्कार महासंघ बाँकेले स्थापना गरेको पुरस्कार हो भने अन्य दाताले स्थापना गरेको पुरस्कार हो । पुरस्कार छनोटका लागि रुद्र सुबेदी संयोजकत्वमा डक्ट धिताल र नवीन गिरीको तीन सदस्यीय समिति गठन गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको साधरण सभामा विभिन्न पेशागत संगठन तथा संघसस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो भने महासंघको बन्दशत्रमा सचिव कमल डाँगी र कोषाध्यक्ष विनोद पौडेलले प्रस्तुत गरिएको प्रतिवेदन बहुमतले पारित गरिएकोछ ।

यसैबीच, महासंघ केन्द्रिय समितिले सार्वजनिक गरेको मतदाता नामावलीमा देखिएको विवादका कारण महासंघको चुनावको मिति सारिएकोछ । जेठ २६ गतेका लागि तय गरेको चुनाव आगामी असार दोस्रो साता भित्र गर्ने गरि तयारी थालिएकोछ ।