भेरीमा विचौलियाको हाबी, अस्पताल उदासिन


भेरीमा विचौलियाको हाबी, अस्पताल उदासिन

नेपालगन्ज:भेरी अस्पताल नेपालगन्जमा दलाल तथा विचौलियाको विगविगी बढेको छ । उपचारका लागि अस्पतालमा आउने विरामी विचौलियाका कारण दैनिक सास्ती भोग्दै आएका छन् । तर, अस्पताल प्रशासन भने विचौलिया तथा दलाल नियन्त्रण तथा रोकथामका लागि उदासिन रहेको छ ।

दलाल र अस्पतालका डाक्टर तथा कर्मचारीबीच कमिशनको सेटिङ् भएकै कारण अस्पताल र यहाँका कर्मचारी तथा चिकित्सक यस बिषयमा चिन्तीत नभएको खुलासा भएको छ ।

विचौलिया हाबी भएकैले विगतमा डाक्टरको काउण्टरदेखि वार्डमै गएर उनीहरुले विरामीका आफन्तलाई समातेर जर्बरजस्ती निजि क्लिनिक तथा अस्पतालमा लैजाने गरेको अस्पतालका मेसु डाक्टर रुपमानन्द अधिकारीले स्वीकार्यका छन् ।

उनकाअनुसार अहिले विचौलियाले काउण्टरबाट त होईन अस्पतालको गेट र फार्मेसी नजिकबाट दलाली गर्ने गरेका छन् । अस्पताल व्यवस्थापनले प्रभावकारी रुपमा नियन्त्रण गर्न नसक्दा विचौलियाको बिगबिगी बढेको हो । व्यवस्थापन फितलो हुँदा कमाइ खाने भाँडो बनाउन अस्पतालका चिकित्सकदेखि पीयन र विचौलिया समेत सक्रिय छन् ।

Kanti Aarogya Hospital Nepalgunj

अस्पतालमा सामान्य उपचारका लागी आउने बिरामीलाई ‘मुर्गा’ बनाउन अस्पतालको मूलगेट बाहिरदेखि नै दलालको जालो फैलिने गरेको डाक्टर अधिकारी नै बताउँछन् । विगतको बर्षमा भन्दा अहिले अस्पतालमा विचौलियाको सक्रियता बढेको अस्पतालका मेसु अधिकारी बताउँछन् । पछिल्लो समय जिल्ला प्रशासनसँग समन्वय गरेपछि एजेन्टका रुपमा काम गर्नेमाथि निगरानी बढेको पनि उनले बताए । तर, निगरानी बढेपनि विचौलियाको धन्दा नरोकिएको विरामीका आफन्त चन्द्र दाहाल बताउँछन् ।

उनकाअनुासर विचौलिया तथा दलालको रोकथाम र नियन्त्रणका लागि अस्पतालले पहल गनुपर्छ । अस्पतालले प्रभावकारी पहल र गतिलो कदम चाल्न नसक्दा विचौलियाका कारण विरामी र विरामीका आफन्तले सास्ती भोगिरहेको दाहालले बताए ।

अस्पतालमा राम्रा डाक्टर छैनन, उपचार सेवा छैन लगायतका भ्रामक जानकारी पीडित बिरामी र तिनका आफन्तको कानमा पु¥याउने र बिरामीलाई निजी अस्पताल र क्लिनिकमा जान बाध्य बनाउने गिरोह अहिले भेरीमा सक्रिय भइरहेको छ । अस्पताल प्रशासन उनीहरूको सामू निरिह भएर बसेको छ ।

नीजि अस्पतालले बिरामी खोजेर ल्याउने दलाललाई हाडजोर्नीका बिरामीवापत तीन हजार, प्रसुतीको बिरामीवापत पाँच हजार, स्नायु सम्बन्धी बिरामीवापत दश हजार रूपैयाँ, भिडियो एक्सरे, इण्डोस्कोपी लगायतका जाँचका लागी निजी जाँच केन्द्रसम्म बिरामी ल्याइ पु¥याउनेलाई यथेष्ट कमिशनको व्यवस्था दिदैं आएको खुलेको छ ।

कतिपय उपचार सेवामा बिरामीको सुविधाको लागी विदुतीय टोकन प्रणाली जडान गरिएपनि कर्मचारीको बदमाशीका कारण नियमित संचालन हुँदैन । यो अस्पतालमा बिरामीले उपचार नपाउँदा निजी अस्पताल तथा क्लिनिक चाहार्नुपर्ने बाध्यता हुन्छ । अस्पताललाई दुरूपयोग गर्नेहरू हाबी भएको नागरिक समाजका अगुवाहरु बताउँछन् ।

यो अस्पतालमा बेथिती हुँदा निजी क्षेत्रबाट खुलेका अस्पतालको व्यापार भने फष्टाएको छ । अस्पताल व्यवस्थित रूपमा संचालन हुँदा पुरा समय दिनुपर्ने र बिरामीको चाप बढ्ने भएकोले अधिकांश चिकित्सक र कर्मचारी अस्पतालमा अव्यवस्था नै मन पराउँछन् ।

निजी क्लिनिकमै व्यस्त रहन चाहने चिकित्सक र पैसा कमाउने ध्याउन्न बोकेका निजि अस्पताल वा क्लिनिकका मालिकबीच अघोषित सहमति नै भएको खुलेको छ ।

अस्पतालमा नाम भन्दा पनि दाम कमाउने चाहना बोकेर कनिष्ठ तहका कर्मचारी मेडिकल सुपरिटेण्डेण्ट पदमा नियुक्ति लिएर आउँछन् ।
मनग्ये कुम्ल्याउँछन् र सरूवा लिएर जान्छन्, अस्पतालको बेथिति जस्ताको त्यस्तै । अस्पताल सुधार्नुपर्छ भन्ने पक्षमा सिमित चिकित्सक र कर्मचारी मात्र छन ।