File Photo
नेपालगन्ज ३१ जेठ : यसवर्ष तीन दिन अगावै मनसुन नेपाल भित्रिएकोछ । त्यसो त औसतमा नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ भने अक्टोबर २ मा बाहिरिन्छ । एकातिर मनसुन भित्रिएपछि हुने भारी वर्षाका कारण प्राकृतिक प्रकोपहरू निम्तिने गर्छन् । अर्कोतिर कृषिका लागि मनसुनी वर्षा अपरिहार्य पनि छ ।
के हो मनसुन ?
सामान्य शब्दमा मनसुन भनेको हावा वहने दिशाको अथवा हावाको दिशा परिवर्तन हुनु हो । यसरी दिशा परिवर्तन गरेर आएको हावा (मनसुन)ले भारी वर्षा गराउन वा सुक्खा पनि गर्न सक्छ । मनसुन सामान्यतया एसिया र दक्षिणपूर्वी एसियामा सम्बन्धित छ । तर, संयुक्त राज्य अमेरिका र अन्य उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पनि मनसुन देखापर्छ । मनसुन शब्दको उत्पत्ति अरबिक भाषामा हावाको मौसम अर्थात् ‘मउसिम’बाट भएको हो । मनसुन हावाको दिशा परिवर्तन हो ।
त्यसो भए यो के कारणले हुन्छ ?
ऋतु परिवर्तन भएसँगै जमिन र समुद्री तापक्रममा हुने फेरबदलले हावाको दिशा परिवर्तन हुन्छ । गर्मीयामको समयमा पानीको सतह भन्दा छिटो जमिन तात्छ । मनसुनी हावा सधैँ चिसोबाट तातो ठाउँतिर बहन्छ । यसरी गर्मीयाममा जमिनबाट निस्कने तातो हावाले हावाको दिशा उल्टो हुने अवस्था सिर्जना गर्छ । मनसुन अगाडिको अवधिमा नेपालमाथि माथिल्लो वायुमण्डलमा हुने उच्च वेगको हावा विस्तारै उत्तरमा तिब्बती पठारतिर सर्ने र मनसुन प्रवेश गर्ने गर्छ ।
मनसुनले पानी कसरी पार्छ ?
हिन्द महासागरको पानी वाष्पिकरण भएर अथवा वाफ बनेर हावामा मिसिन्छ । यसरी वाफसहितको हावा भारत, नेपाल, श्रीलंका र बंगलादेश लगायतका देशतर्फ वहन्छ । त्यहाँ पुगेपछि तातो हावा चिसिन्छ र पानी पार्छ । हिउँदयाममा फेरि हावाको दिशा परिवर्तन हुन्छ र मनसुन हिन्द महासागरतर्फ जान्छ । हिउँदे मनसुन नेपालमा खासै हुँदैन । हिउँदे मनसुन भनेर नेपालको हकमा लागु हुँदैन । दक्षिणी भारत र श्रीलंका आसपासमा हिउँदे मनसुन भन्ने चलन भने हुन्छ । हिउँदमा हामीसँग पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव हुन्छ ।
मनसुन भनेको नै वर्षा होइन र ?
मनसुन भन्ने बित्तिकै धेरै मानिसहरूले भारी वर्षा भनेर सोच्ने गर्छन् । तर, यो केवल हावाको दिशा परिवर्तन मात्रै भएकाले मनसुनले सुक्खा समेत गराउन सक्छ । हावा जताबाट जता बहन्छ यसले त्यहाँ भएको कुरा बोक्छ । जस्तो की सुक्खा ठाउँबाट आयो भने सुख्खै हावा ल्याउँछ । जलवाष्प भएको ठाउँबाट त्यो पनि ल्याउँछ र बादल पनि ल्याउँछ ।
नेपालको हकमा बंगालको खाडीबाट आउने हुँदा त्यहाँ जलवाष्पयुक्त हावा धेरै हुन्छ, मनसुनले त्यहाँबाट बादल पनि ल्याउँछ । त्यसैले बादलबाट पनि पानी पर्छ र जलवाष्पयुक्त हावा यहाँ पुगेर चिसिन्छ र त्यसरी पनि पानी पर्छ । मनसुन अवधिभर यसरी बंगालको खाडीबाट नेपालतर्फ पानी पार्ने र नपार्ने दुवै किसिमको हावा आइरहन्छ । यस्तै न्युन चापीय रेखा जहाँ स¥यो त्यतैतिर मनसुनले वर्षा गराउने पनि गर्छ । हिमालयतर्फ न्यून चापीय रेखा आएर नेपाल र भारततर्फ गयो भने त्यहाँ पानी पर्छ । त्यसैले मनसुन अवधिभर फरक–फरक ठाउँमा पानी पर्छ । अर्को कुरा के भने मनुसुन छिर्दा पानी पर्छ भन्ने सोचाइ पनि गलत हो । पानी नपर्न पनि सक्छ ।
किन आवश्यक छ मनसुन ?
नेपाल, भारतसहित दक्षिणपूर्वी एसिया गर्मीयामको मनसुनमा निर्भर छ । खासगरी यहाँ कृषिका लागि मनसुन आवश्यक छ । कयौं ठाउँहरूमा सिँचाईको सुविधा उपलब्ध नहुँदा वर्षामै निर्भर हुनुपर्छ । मनसुन अवधिको वर्षाले कयौँ क्षेत्रमा वर्षभरीका लागि कृषि क्षेत्रको पानीको आवश्यकता पूर्तिसमेत गर्छ । विशेषगरी धान र चिया खेती, जम्मा गरेर राखेको पानीबाट उत्पादन हुने बिजुलीलगायतमा मनसुनी वर्षा आवश्यक छ । मनसुन कमजोर र ढिला भित्रिँदा यी क्षेत्रको कृषि उत्पादन र अन्य आर्थिक गतिविधिमा ठूलो क्षति हुने गरेको छ ।