डिजिटल पालिका बन्दै बैजनाथ


सेतोखरी सेतोखरी   शुक्रबार, जेठ ३२, २०८१
डिजिटल पालिका बन्दै बैजनाथ

बैजनाथ (बाँके) ३२ जेठ : बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नो सेवा सुविधालाई ‘डिजिटल’ बनाउन सुरु गरेको छ ।  बैजनाथले पालिकाको कार्यालयलाई मात्रै नभएर पालिकाभित्र रहेका आठैवटा वडाहरुलाई ‘डिजिटल’ बनाउन लागेको हो । जसअन्तर्गत शुक्रबार बैजनाथ गाउँपालिकाका सबै वडाहरुमा ‘डिजिटल वडापत्र’ जडान गरिएको छ ।

बैजनाथलेले टेक वर्क ग्रुप अफ कम्पनी र निन्जा इफोसिसको ‘टेक्निकल’ सहयोगमा पालिकामा ‘डिजिटल नागरिक वडापत्र’ र वडाहरुमा ‘नागरिक वडापत्र’ जडान गरी संचालनमा ल्याएको हो । पालिकामा नागरिक वडापत्र जडान गर्ने कार्यक्रम पालिकाको १ नम्बर वडाबाट सुरु गरिएको थियो । जसको उद्घाटन बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र वडा नम्बर १ का अध्यक्ष रुपबहादुर मल्लले गरेका थिए । 

वडाहरुमा नागरिक वडापत्र संचालनमा ल्याएपछि नागरिकहरुलाई दिइने सेवा सुविधाका बारेमा सहजरुपमा सूचना प्रवाह हुने वडा नम्बर १ का अध्यक्ष मल्ल बताउँछन् । ‘जनताले पाउने सूचना प्रवाह पहिला पुरानो तरिकाले हुने र झन्झटिलो हुने हुँदा अब सरल रुपमा सबैलाई जानकारी हुन्छ,’ मल्ल भन्छन् । बैजनाथ गाउँपालिकाले के गरिरहेको छ भन्ने कुरा प्रत्येक दिन हेर्न सक्ने मल्ल बताउँछन् ।

बैजनाथले संचालन गरेको डिजिटल नागरिक वडापत्रमा पालिकाले प्रदान गर्ने सेवा सुविधा र त्यसमा लाग्ने शुल्क, पालिकाको अवस्था, पालिकाका गतिविधि, जनप्रतिनिधि र कर्मचारीको पूर्ण विवरण सहजै हेर्न मिल्ने निन्जा इफोसिसले जनाएको छ । साथै नागरिक वडापत्रमा बैजनाथले आवश्यकता अनुसार सेवा सुविधा र गतिविधि थप्न र हटाउन पनि सक्ने निन्जाले जनाएको छ । 

Kanti Aarogya Hospital Nepalgunj

बैजनाथले पालिकालाई पूर्ण ‘डिजिटल’ बनाउन पहिलो चरणको कार्यक्रमको सुरुवात गरेको पालिका अध्यक्ष प्रकाशबहादुर शाही बताउँछन् । शाहीका अनुसार प्रविधिसँग पालिकालाई जोड्न आगामी वर्षहरुमा पनि योजना तर्जुमा गरेर अघि बढ्ने बताउँछन् ।

शुक्रबार नै पालिकाकाका १, २, ३, ४ र ५ नम्बर वडामा जडान गरिएका वडापत्रहरुको अनुगमन गरिएको छ भने बाँकी वडाहरुको अनुगमन आइतबार गरिने पालिकाले जनाएको छ । पालिकाको कार्यालयमा जडान गरिएको ‘डिजिटल नागरिक वडापत्र’को उद्घाटनमा भने अध्यक्ष शाहीसँगै उपाध्यक्ष निर्मला रोकाय गरेका थिए । उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि र पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।