नेपालगन्ज ९ असार : नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२-२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको छ । यसअघि राष्ट्रिय जनगणना २०७८ ले साक्षरता दर ७६.३ प्रतिशत पुगेको देखाएको थियो । यो ५ वर्ष सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर हो ।
साक्षरतामा महिलाको तुलनामा पुरुषको साक्षरता दर माथि देखिन्छ । पुरुषको साक्षरता दर ८५.८ प्रतिशत र महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको छ ।
५ वर्ष र सोभन्दा माथिको साक्षरता दरलाई प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै साक्षरता गण्डकी प्रदेशमा रहेको छ । सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ ।
गण्डकीमा ८३.४ प्रतिशत साक्षरता रहेको छ । मधेशको साक्षरता दर ६८.३ प्रतिशत रहेको छ । महिला साक्षरता दर सबैभन्दा धेरै बागमतीमा देखिन्छ । यस प्रदेशमा ७६.८ प्रतिशत महिला साक्षरता दर रहेको छ । सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ । यस प्रदेशको साक्षरता दर ५९.९ प्रतिशत रहेको छ ।
पुरुषमा सबैभन्दा धेरै साक्षरता दर गण्डकी प्रदेशमा रहेको छ । यस प्रदेशमा पुरुषको साक्षरता दर ९१.३ प्रतिशत पुगेको छ । सबैभन्दा कम साक्षरता दर मधेश प्रदेशमा ७७.९ प्रतिशत रहेको छ ।
यस्तै ५ वर्षमाथि साक्षरता दर हेर्दा लुम्बिनी प्रदेशमा ७४.२ प्रतिशत महिला र ८७.४ पुरुषको साक्षरता दर रहेको छ । यहाँ ५ वर्षमाथिको कुल ८०.१ साक्षरता दर रहेकोछ ।