नेपालगन्ज १४ असार : बाँकेमा वन क्षेत्र अतिक्रमण गरि बनाइएका घरटहरा हटाइएको छ । बाँकेको नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा वन क्षेत्र अतिक्रमण गरी बनाइएका २७ वटा घरटहरा हटाइएको डिभिजन वन कार्यालय बाँकेले जनाएको हो ।
सो कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा नरैनापुर र राप्तीसोनारीमा चार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाइएको छ ।
डिभिजन वन कार्यालयका अनुसार नरैनापुर गाउँपालिका वडा नम्बर–६ स्थित दुर्गामाता सामुदायिक वनमा अतिक्रमण गरी निर्माण गरिएका सात घरटहरा हटाइएको छ । यस्तै राप्तीसोनारी गाउँपालिका वडा नम्बर–७, मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब तीन हेक्टर वन क्षेत्र अतिक्रमण गरी बनाइएका १३ घरटहरा तथा राप्तीसोनारी गाउँपालिका वडा नम्बर–९, ढकेरीमा विगतमा रेन्जपोस्ट रहेको करीब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका सात घरटहरा हटाइएको हो ।
यस्तै राप्तीसोनारी गाउँपालिका वडा नम्बर–७ स्थित मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करीब तीन हेक्टर वन क्षेत्र अतिक्रमणमा संलग्न १३ जनामाथि मुद्दा चलाइएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर–९, ढकेरीमा विगतमा रेन्जपोस्ट रहेको करीब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात घरटहरा हटाएर हाइटेक नर्सरी निर्माण कार्य भइरहेको छ ।
शमशेरगन्ज सबडिभिजन वन कार्यालय अन्तर्गत राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२, कचनापुर, वडा नम्बर–६ फत्तेपुर र वडा नम्बर–८ महादेवपुरीमा बाढीपीडितका नाममा बढी वन क्षेत्र अतिक्रमण गरिएको जनाइएको छ ।