File Photo
नेपालगन्ज १६ असार : बाँकेको राप्ती नदीसहित देशभरका विभिन्न नदीमा आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार पश्चिम राप्ती, बबई, कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरु तथा बागमती, कमला र पूर्वी राप्तीको जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान छ । त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
आज बाँके, बर्दिया, दाङ, रोल्पा, ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने महाशाखाले जनाएको छ । केही नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिम पनि हुने छ ।
साथै सल्यान, दैलेख, प्युठान, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अर्घाखाँची, इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने नदीहरुमा पनि बहाव बढ्ने छ । केही नदीमा आकस्मिक बाढीको जोखिम हुने पूर्वानुमान छ ।